© 2026
बुटवल । लुम्बिनी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण देखिने क्रम जारी रहे पनि परीक्षणका लागि आवश्यक किट पर्याप्त नहुँदा रोग पहिचान तथा नियन्त्रणमा चुनौती देखिएको छ । तराई र पहाडी दुवै क्षेत्रका जिल्लामा संक्रमण देखिएकाले रोग नियन्त्रणका लागि परीक्षण, निगरानी र सावधानीका गतिविधि प्रभावकारी बनाउनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्यांकअनुसार पछिल्लो नौ महिनामा प्रदेशका १२ जिल्लामा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएका दुई हजार ७८० जनाको परीक्षण गर्दा २३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, डेंगुसँग मिल्दोजुल्दो समस्या देखिएका ८४६ जनामध्ये ८२७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्क्रब टाइफसको संक्रमण सबैभन्दा धेरै दाङमा देखिएको छ । दाङमा लक्षण देखिएका ६२४ जनाको परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो । पाल्पामा ३९६ जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको छ। बर्दियामा ३२४ जनामा लक्षण देखिएकामा पाँच जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ ।
तराईका जिल्लासमेत संक्रमणको जोखिममा रहेका छन् । रूपन्देहीमा लक्षण देखिएका २१६ जनामध्ये १४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । बाँकेमा १७८ जनामा लक्षण देखिएकामा पाँच जनामा र पश्चिम नवलपरासीमा ६९ जनामध्ये चार जनामा संक्रमण देखिएको छ । कपिलवस्तुमा ४८ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ ।
पहाडी जिल्लामा पनि स्क्रब टाइफसको जोखिम देखिएको छ । रोल्पामा २९३, गुल्मीमा २६१, अर्घाखाँचीमा २४९, रुकुम पूर्वमा ७५ र प्युठानमा ४७ जनामा स्क्रब टाइफससँग मिल्दोजुल्दो समस्या देखिएको निर्देशनालयको विवरणमा उल्लेख छ ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ताराबहादुर कार्कीले स्क्रब टाइफसबाट जोगिन घरवरपरका झाडी र घाँस सफा राख्न तथा खेतबारी र झाडी क्षेत्रमा काम गर्दा सावधानी अपनाउनुपर्ने बताए । संक्रमित किर्नाको टोकाइबाट सर्ने यो रोगमा ज्वरो आउने, टाउको र शरीर दुख्ने तथा अत्यधिक कमजोरी हुनेजस्ता लक्षण देखिन सक्ने भएकाले समयमै परीक्षण र उपचार आवश्यक हुने उनको भनाइ छ ।
स्क्रब टाइफससँगै प्रदेशमा डेंगुको संक्रमण पनि देखिएको छ । निर्देशनालयको तथ्यांकअनुसार डेंगु संक्रमण पाल्पामा सबैभन्दा धेरै पुष्टि भएको छ । पाल्पामा २५१ जनामा संक्रमण देखिएको छ । दाङमा लक्षण देखिएका १७८ जनामध्ये १६३ जनामा संक्रमण पुष्टि भएको छ ।
रूपन्देहीमा १२८, गुल्मीमा ६५ र पश्चिम नवलपरासीमा ६३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु सार्ने लामखुट्टेको प्रजनन रोक्न घर तथा कार्यालय परिसरमा पानी जम्न नदिने, पानी राख्ने भाँडा छोप्ने र लामखुट्टे बस्न सक्ने स्थान नियमित सफा गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा. सुभाष ज्ञवालीले ज्वरो आउने, टाउको तथा शरीर दुख्ने र असामान्य कमजोरी हुनेजस्ता लक्षण देखिएमा घरमै औषधि सेवन गरेर बस्नुभन्दा स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनुपर्ने बताए । लक्षणका आधारमा मात्र रोग छुट्याउन कठिन हुने भएकाले आवश्यक परीक्षणपछि चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने उनको भनाइ छ ।
संक्रमणको जोखिम रहेका जिल्लामा परीक्षणको आवश्यकता बढे पनि किटको उपलब्धता पर्याप्त हुन नसकेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक डा. राजेन्द्र गिरीले जिल्ला स्वास्थ्य कार्यालयमार्फत संक्रमण बढी देखिएका क्षेत्रमा स्क्रब टाइफस र डेंगु परीक्षणका किट पठाइएको बताए । सम्बन्धित निकायसँग समन्वय गरी किट पठाइए पनि आवश्यकताअनुसार पर्याप्त नभएको उनले स्वीकार गरे ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले पहाडी र तराई दुवै क्षेत्रमा संक्रमणको जोखिम देखिएकाले जिल्लागत रूपमा रोग नियन्त्रणका गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार समुदायस्तरमा सरसफाइ, रोगसम्बन्धी सचेतना र निगरानी बढाउन आवश्यक छ ।
स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफस र डेंगुका लक्षण केही हदसम्म मिल्दोजुल्दो हुन सक्ने भएकाले ज्वरो आएका बिरामीको स्वास्थ्य अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार परीक्षण गर्नुपर्छ । समयमै रोग पहिचान र उपचारसँगै परीक्षण सामग्रीको उपलब्धता तथा स्थानीय तहमा रोकथामका गतिविधि प्रभावकारी बनाउनु संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण हुने देखिएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमण नियन्त्रणका लागि बिरामीको परीक्षण र उपचारमा सहज पहुँच सुनिश्चित गर्नुका साथै जोखिमयुक्त क्षेत्रमा रोग सार्ने किर्ना र लामखुट्टेको प्रजनन नियन्त्रणलाई प्राथमिकता दिन आवश्यक छ । स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबिच समन्वय गरी सरसफाइ अभियान, जनचेतना र सम्भावित संक्रमितको निगरानीलाई प्रभावकारी बनाउन सके संक्रमण फैलिने जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ ।