© 2026
अर्घाखाँची । लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भूगर्भ सिमेन्टले जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीलाई ५० वटा लापसे लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेको छ।
सन्धिखर्क नगरपालिका–७ को सहजीकरणमा उक्त परीक्षण किट ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको हो। लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा हुन सक्ने सम्भावित दुर्घटना रोक्न तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन किटले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
किट हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख लिलबहादुर कुँवर र सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले लागूपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न परीक्षण किट उपयोगी हुने बताए ।
ट्राफिक प्रहरीले परीक्षण किट प्राप्त भएसँगै लापसे परीक्षण अभियान तत्काल सञ्चालन गर्ने जनाएको छ। अभियानबाट लागूपदार्थ सेवन गरेर सवारी चलाउने चालकको पहिचान गर्न र सम्भावित सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघ, देउराली यातायात प्रालिलगायत यातायात क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सडक सुरक्षालाई प्राथमिकता दिँदै निजी क्षेत्र, स्थानीय सरकार र ट्राफिक प्रहरीबीचको सहकार्यले जिल्लामा सुरक्षित यातायात प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।