Butwal Today

विश्व दृष्टि दिवसको अवसरमा आँखा तथा दन्त उपचार शिविर

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल ।
बुटवल उपमहानगरपालिका–१६, नरैनापुरस्थित प्राथमिक विद्यालयमा विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी निःशुल्क आँखा तथा दन्त परीक्षण र उपचार सेवामा गरि २०१ जना बिद्यार्थी र शिक्षकलाई सेवा प्रदान गरिएको थियो ।

आँखा शिविरको देवदह मेडिकल कलेज र दन्त शिविरमा प्राविधिक सहयोग ओम माथागढी डेन्टलले गरेका थिए । दुवै कार्यक्रमको आयोजना लायन्स क्लवले गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ का गभर्नर लायन सन्दीप कसौधनले विद्यालयमा पुगेर बालबालिकाको स्वास्थ्य सेवामा योगदान गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताए । उनले विद्यालय र लायन्स क्लबबीचको सम्बन्ध केवल औपचारिकतामा सीमित नभई सेवाभाव, आत्मीयता र सामाजिक उत्तरदायित्वमा आधारित हुनुपर्ने धारणा राखे ।

उनले बालबालिका देशको भविष्य भएकाले उनीहरूको स्वास्थ्य र शिक्षामा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
आँखामा देखिने सानो समस्याले पनि पढाइमा असर पार्न सक्ने र दाँतको समस्याले बालबालिकाको खानपान तथा दैनिक जीवन प्रभावित हुन सक्ने भएकाले समयमै परीक्षण र उपचार आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग, रिजन चेयरपर्सन लायन देवबहादुर कुँवर, जोन चेयरपर्सन लायन सरोज श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष लायन बाबुराम शर्मा चापागाईं, लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिका अध्यक्ष लायन डिआर पन्थी, लायन्स क्लब अफ देवदह भलुहीका अध्यक्ष लायन कृष्णमाया राना तथा तिलोत्तमा बुद्धज्योतिका निवर्तमान अध्यक्ष लायन विनोद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरूले विद्यालयमा सञ्चालन गरिने स्वास्थ्य शिविरले विद्यार्थीलाई समयमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुग्ने बताए । सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लबले गर्दै आएका यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै विद्यालय र सामाजिक संस्थाबीचको सम्बन्ध थप बलियो बनाउने उनीहरूको धारणा थियो ।
विद्यालयका प्रधानाध्यापक अम्बिका अर्याल भण्डारीले विद्यालयमै विद्यार्थी तथा शिक्षकका लागि निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन हुनु खुसी र गर्वको विषय भएको बताईन ।

विद्यालयको शैक्षिक यात्रामा सहयोग गर्ने लायन्स क्लब तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै उनले विद्यालय र सामाजिक संस्थाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गरिन ।
कार्यक्रमको अध्यक्षता गरेकी लायन श्रृजना श्रेष्ठले निःशुल्क स्वास्थ्य शिविरलाई सामाजिक उत्तरदायित्व पूरा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताइन ।

विश्व दृष्टि दिवसको अवसर पारेर आयोजना गरिएको शिविरमा विद्यालयका विद्यार्थी तथा शिक्षकको निःशुल्क आँखा परीक्षण तथा दन्त परीक्षण र उपचार गरिएको थियो । कार्यक्रम संचालन लायन अन्जु श्रेष्ठले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?