© 2026
नवलपरासी । पश्चिम नवलपरासीको झरही–पिडुरा दोभान कुण्ड क्षेत्रमा गोही संरक्षणका लागि सरकारी चासो बढ्न थालेको छ । स्थानीयस्तरबाट गोहीको प्राकृतिक बासस्थान संरक्षण र व्यवस्थापनको पहल अघि बढेपछि लुम्बिनी प्रदेश सरकार र सरावल गाउँपालिकाले चालु आर्थिक वर्षमा सात लाख रुपियाँ बजेट विनियोजन गरेका छन् ।
गोही संरक्षण, जनचेतना अभिवृद्धि तथा क्षेत्रको व्यवस्थापनका लागि सरावल गाउँपालिकाले दुई लाख र लुम्बिनी प्रदेश सरकारले पाँच लाख रुपियाँ छुट्याएका हुन् । वर्षौँदेखि प्राकृतिक जलाशय तथा कुण्डमा गोही बस्दै आएको यस क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा भारतीय पर्यटकको चहलपहलसमेत बढ्न थालेको छ ।
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीले गोहीको बासस्थान व्यवस्थित गर्दै संरक्षण र पर्यापर्यटनको सम्भावना विकास गर्न गाउँपालिकाले लगानी सुरु गरेको बताए । “पहिलो वर्ष संरक्षण, प्रचारप्रसार र जनचेतनाका लागि बजेट छुट्याएका छौँ । आगामी वर्षमा पनि लगानी बढाउँदै लैजाने योजना छ,” उनले भने ।
उनका अनुसार अहिले अव्यवस्थित अवस्थामा रहेका गोहीको बासस्थानलाई निश्चित क्षेत्र निर्धारण गरी सुरक्षित रूपमा संरक्षण गर्न सके स्थानीयका लागि चुनौती बनेको विषयलाई पर्यापर्यटनको अवसरमा बदल्न सकिन्छ । त्यसका लागि स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक पर्ने उनले बताए ।
डिभिजन वन कार्यालय नवलपरासीका अनुसार प्रदेश सरकारले समेत गोही संरक्षणका लागि बजेट विनियोजन गरेको छ । डिभिजन वन अधिकृत धनिश्वर न्यौपानेले गोहीको प्राकृतिक बासस्थान रहेको पिडुरा घोल र कुण्ड क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित बनाउन आवश्यक रहेको बताए ।
उनका अनुसार यस क्षेत्रको दीर्घकालीन संरक्षणका लागि विनियोजित बजेट मात्रै पर्याप्त नहुन सक्छ । बासस्थान संरक्षण, आवश्यक पूर्वाधार निर्माण र जैविक विविधताको जगेर्नाका लागि ठूलो लगानी आवश्यक पर्न सक्ने उनले बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकार, स्थानीय तह, स्थानीय समुदाय र विश्व वन्यजन्तु कोषलगायत संरक्षणसम्बन्धी संस्थाबिच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
रामग्राम नगरपालिका–१७ पिपरहिया, पाल्हीनन्दन गाउँपालिका–३ कुश्मा तथा सरावल गाउँपालिका–४ पुर्नहा आसपासमा फैलिएको झरही–पिडुरा दोभान क्षेत्र करिब ५६ हेक्टरमा फैलिएको स्थानीयको भनाइ छ । करिब १० किलोमिटर परिधिमा रहेको जलाशय तथा कुण्ड क्षेत्रलाई गोही आरक्षका रूपमा विकास गर्न स्थानीयले पहल गरिरहेका छन् ।
स्थानीयस्तरबाट गोही संरक्षणको विषय उठेपछि डिभिजन वन कार्यालय नवलपरासी, वातावरण बचाउ अभियानलगायत सरोकारवाला निकायले पनि चासो देखाएका थिए । गोही आरक्ष क्षेत्र घोषणा गर्न लुम्बिनी प्रदेश सरकारसमक्ष पहल अघि बढाउने निर्णय जिल्ला वन समन्वय समितिले यसअघि नै गरेको थियो । सामान्य प्रकृतिको खोलामा गोहीको उपस्थिति हुनु महत्त्वपूर्ण भएकाले यसको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने समितिका प्रमुख भगौती यादवले बताएका थिए ।
रामग्राम नगरपालिका–१७ का वडाध्यक्ष कन्हैया मौर्यका अनुसार दोभान कुण्डमा दर्जनौँ साना–ठूला गोही रहेको बताइन्छ । वर्षायाममा झरही र पिडुरा खोलामा देखिने गोही हिउँद तथा गर्मीयाममा पिडुराको कुण्ड क्षेत्रमा बस्ने गर्छन् । जमिनमुनिबाट पानी निस्कने भएकाले उक्त क्षेत्रमा लामो समयसम्म पानी रहने र गोहीका लागि प्राकृतिक बासस्थान बनेको उनले बताए ।
गोही संरक्षणसँगै स्थानीयको सुरक्षा पनि चुनौतीका रूपमा देखिएको छ । गोहीले बाख्रालगायत पशुमा आक्रमण गर्ने गरेको स्थानीयको गुनासो छ । पशु हराउँदा गोहीले लगेको हुन सक्ने आशङ्कामा कतिपय स्थानीयले गोही नष्ट गर्नुपर्ने धारणा राख्ने गरेको वडाध्यक्ष मौर्यले बताए ।
स्थानीयलाई गोही संरक्षणको महत्त्वबारे सम्झाउँदै आएको उल्लेख गर्दै उनले गोही र मानिसबिच सम्भावित जोखिम कम गर्न बासस्थान क्षेत्रमा तारबार आवश्यक रहेको बताए । तत्काल तारबार गर्न बजेट अभाव भए निगालो तथा बाँसको बार लगाएर पनि क्षेत्रलाई सुरक्षित बनाउन सकिने गण्डक जल उपभोक्ता संस्थाका पूर्वअध्यक्ष हैदर अली मोमिनको भनाइ छ । गोहीलाई प्राकृतिक बासस्थानमै सुरक्षित राख्ने र मानिसलाई जोखिमबाट जोगाउने गरी व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
वातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादवले गोही संरक्षणसँगै जल प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्ने बताए । विभिन्न उद्योग तथा कलकारखानाबाट झरही खोलामा मिसिने प्रदूषित पानी नियन्त्रण गर्न नसके गोहीको प्राकृतिक बासस्थानमा प्रत्यक्ष असर पर्न सक्ने उनले औँल्याए । त्यसैले जलाशय सफाइ, प्रदूषण नियन्त्रण र स्थानीयस्तरमा जनचेतना अभिवृद्धिलाई संरक्षण योजनासँगै अघि बढाउनुपर्ने उनको भनाइ छ ।
गोहीबाहेक यस क्षेत्रमा विभिन्न प्रजातिका माछा, नीलगाई, सर्प, मयुर तथा सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइने स्थानीयको दाबी छ । पाल्हीनन्दन–३ कुश्मास्थित कुटी पार्क, अनरीमाई मन्दिर र उत्तरबहनी झरही नदीजस्ता धार्मिक तथा सांस्कृतिक स्थलसमेत नजिकै रहेकाले संरक्षणसँगै पर्यटकीय पूर्वाधार विकास गर्न सके स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयले गोहीको बासस्थानमा तारबार, प्रदूषण नियन्त्रण, सुरक्षित अवलोकन क्षेत्र र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै क्षेत्रलाई औपचारिक रूपमा संरक्षणको दायरामा ल्याउन माग गरेका छन् । सरकारी बजेट विनियोजनसँगै गोही आरक्ष विकासको पहल अघि बढे पनि यसको दीर्घकालीन संरक्षणका लागि पर्याप्त स्रोत, प्रभावकारी व्यवस्थापन र सरोकारवालाबीच समन्वय आवश्यक देखिएको छ ।