Butwal Today

चन्द्रकोटमा प्रथम वडाध्यक्ष कप सुरु

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ स्थित विशुवर्कमा प्रथम वडाध्यक्ष कप सुरु भएको छ । खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान र वडास्तरमा सकारात्मक प्रतिस्पर्धाको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ आठ गरी २२ टोली सहभागी भएका छन् ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा चन्द्रकोट गाउँपालिकाका साथै अन्य केही पालिकाका वडाबाट समेत खेलाडीको सहभागिता रहेको वडाध्यक्ष कमल केसीले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले रु ५० हजार र द्वितीय हुने टोलीले रु ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीलाई रु १०–१० हजार प्रदान गरिने अध्यक्ष केसीले बताएका छन् ।

त्यसैगरी महिलातर्फ प्रथम हुने टोलीले रु ३० हजार र द्वितीय हुने टोलीले रु २० हजार रूपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीलाई रु १०–१० हजार पुरस्कार प्रदान गरिनेछ । दुवै विधाका विजेता तथा उपविजेता टोलीलाई कप, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य सुलभ खरेलले उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा उनले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेल क्षेत्रको विकास र प्रवर्धनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए ।

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी क्षेत्रीले वडाहरूबीच हुने यस्ता सकारात्मक प्रतिस्पर्धाले खेलकुदको विकाससँगै गाउँपालिकाको समग्र विकासमा समेत योगदान पु¥याउने बताए । सोही अवसरमा वडामा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, उत्कृष्ट किसान, सेवा निवृत्त कर्मचारी, ८० वर्ष माथिका ज्येष्ठ नागरिक तथा जग्गादाता रहेका छन् । प्रतियोगिताको अवसरमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

वडाध्यक्ष कमल केसीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?