Butwal Today

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको शुभकामना आदानप्रदान

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष युवा ज्योतिष जनार्दन न्यौपानेले बडादसैँ नारी शक्तिको पूजा, आराधना र सम्मान गरिने पर्व भएको बताएका छन् । उनले बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने उल्लेख गर्दै यो पर्व सबै वर्गको अस्तित्वसँग जोडिएको बताए ।

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको आयोजनामा आइतबार आयोजित बडादसैँ, शुभदीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं दुर्गा महिमा प्रवचन कार्यक्रममा बोल्दै न्यौपानेले शास्त्रमा महिलाको स्थान उच्च रहेको बताए । उनले दुर्गा माताको महिमा, धार्मिक आस्था र भक्तिभावका विषयमा प्रवचन दिएका थिए ।

क्लबले दुर्गा माताको महिमा, धार्मिक आस्था तथा भक्तिभावको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा दुर्गा माताको पूजा–आराधना र दसैँका १० दिनसम्म गरिने धार्मिक विधिबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा न्यौपानेले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादसैँ हर्षोल्लासका साथ मनाइने बताए । बडादसैँको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिने उल्लेख गर्दै उनले घटमाथि शक्तिस्वरूपा दुर्गाको पूजा–आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भनिएको बताए ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गा देवीको प्रसाद ग्रहण गर्ने धार्मिक परम्परा रहेको उनले जानकारी दिए । कतिपयले जौबाहेक गहुँ र मकैको पनि जमरा राख्ने गरे पनि शास्त्रीय विधिअनुसार जौको जमरा राख्ने परम्परा रहेको उनको भनाइ थियो ।

न्यौपानेका अनुसार घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने धार्मिक विधि छ ।

बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाष्टमी र महानवमीका दिन दसैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत् तथा अन्य देवी स्तोत्र र स्तुतिको पाठ गर्ने परम्परा रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका पूर्वडिस्ट्रिक्ट चेयरमेन आशा श्रेष्ठले दुर्गा माताको महिमा, धार्मिक आस्था र भक्तिभावको प्रचारप्रसारमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले चाडपर्वले आपसी सद्भाव, एकता र आत्मीयता बढाउन सहयोग गर्ने उल्लेख गर्दै उपस्थित सबैलाई पर्वको शुभकामना दिइन् ।

श्रेष्ठले दुर्गा माताको महिमाले अन्यायविरुद्ध लड्न, सत्यको बाटोमा हिँड्न र असल कर्म गर्न प्रेरणा दिने बताइन् । श्रद्धा र भक्तिपूर्वक पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्नुपर्ने उनको भनाइ थियो ।

विशिष्ट अतिथि रोटरी क्लब अफ बुटवलका अध्यक्ष यदुनाथ पाण्डेले माताको पूजा–आराधना गर्नाले मनमा शान्ति, साहस र सकारात्मक ऊर्जा प्राप्त हुने जनविश्वास रहेको बताए ।

क्लबकी अध्यक्ष सुशीला पोखरेलले दुर्गा माताको महिमा र धार्मिक आस्थाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । क्लबका पूर्वअध्यक्ष राधा भट्टराईले धार्मिक कार्यक्रम तथा शुभकामना आदानप्रदान आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिइन् ।

क्लबका उपाध्यक्ष गीता खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुधा न्यौपानेले गरेकी थिइन् । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, सल्लाहकार, बोर्डका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । सहभागीहरूले बडादसैँ, शुभदीपावली तथा छठ पर्वले सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गर्न सहयोग पुगोस् भन्ने कामना गरेका थिए ।

यस वर्षको विजयादशमीको टीका कात्तिक ४ गते परेको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?