© 2026
पाल्पा ।
बुढेसकालमा छोराछोरीसँगै बस्ने रहर कसलाई हुँदैन होला र रुयही रहरमा छोरा छोरीसँगै सहर पसेका बृद्धबृद्धाहरु भने सहरको जीवनबाट बिरक्तिएर पुनःगाउँ फर्किन थालेका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिकाको देउरालीका कविराज अधिकारी संयुक्त परिवारमा हुर्किए । उनको परिवार समय अनुसार छोटिँदै गयो ।
छोराछोरी रोजगारीका लागि सहर पसे । छोराछोरीको साथ लागेर उनी पनि बाध्यताले सहर पुगे । तर, पछि उनलाई गाउँको मायाले तान्यो । अहिले बुढ्यौली उमेरमा सहरका सबै सुख सुविधा छाडेर गाउँमै जसोतसो जीवन बिताउँदै आएका छन् ।
विगत केही बर्षयता पाल्पा जिल्लाको जनसख्या घट्दो अवस्थामा रहेको छ । त्यसको प्रभाव जनघनत्वमा पनि परेको छ । रोजगारीका क्रममा छोराछोरी घर बाहिर गएपछि छोराछोरीको मायाले सहर पसेकाहरू सहरको रमाइलोमा आफूलाई एक्लो महसुस गर्न थालेपछि गाउँ फर्कन बाध्य भएको बृद्धबृद्धाहरु बताउँछन् ।
कविराजको भनाई छ– गाउँमा एउटा परिवारमा दु:ख पर्दा अर्को परिवारको साथ पाइन्छ तर सहरमा घरै जोडिएका परिवारसँग पनि चिनाजानी हुँदैन । गाउँमा एक आपसमा विश्वास छ, माया र सद्भाव छ तर सहरमा त विश्वास र सद्भाव भन्ने नै हुँदो रहेनछ । त्यही भएर सहर छोडेर गाउँ फर्किएँ ।
सहरमा सीमित बन्धनमा बाँधिएर बस्नु पर्दा बुढेसकालमा त्यो भन्दा अरू पिडा केही नहुने रिब्दीकोट गाउँपालिका भैरवस्थानकी अम्बिका खनाल बताउँछिन् । सहरको परिवेशले आफूलाई एक्लो बनाएपछि हातखुट्टा चलुञ्जेल गाउँमै एक्लै बस्ने निर्णय गर्दै सहरमा बसेका छोराछोरी छोडेर गाउँ फर्किएको उनले बताइन् ।
छोराछोरी रोजगारीको क्रममा रुपन्देहीको देवदहको खेरेनी आएपछि सँगै आएका माथागढी गाउँपालिका गोठादी ढबाका चन्द्रबहादुर बाह्रघरेलाई कति बेला पुरानै गाउँ फर्किउँ जस्तो हुटहुटीले सतायो । दसैँमा गाउँ पुगेपछि आफ्नै पुरानो घरमा बाँकी जीवन बिताउने निर्णय गरेको बताउने बाह्रघरेलाई गाउँमा जस्तो सुख र आनन्द सहरमा नपाइने भन्दै अव सहर नजाने बताए ।
चन्द्रबहादुर जस्तै निस्दी गाउँपालिका मुढाबासका तासबहादुर कालुङ मगर पुराना पुस्ताका गाउँका अगुवा हुन् । उनी पनि जीवनको लामो समयसम्म परिवारसँगै बसे । पछिल्लो दशकमा छोरा बुहारी रोजगारीको क्रममा विदेश गएपछि तिनै छोरा बुहारीको करले सहर पसे । तर अहिले सहरको अनुभव लिए पछि आफूलाई एक्लो महसुस हुन लागेको उनको गुनासो छ । त्यही भएर गाउँ फर्किएको उनले व्यथा सुनाए ।
गाउँ फर्किएपछि तास बहादुरलाई समय गएको पत्तै हुँदैन । बिहानको खाना पछि गोठको धन्धा सकेर घरमाथिको चौतारामा आफ्नै उमेर समूहको भेलामा उनी पुग्छन् । गाउँमा भएका घटना तथा कामका समीक्षा गर्छन् । दिनभरि चौतारामा बसेर साँझ घर फर्कन्छन् । गाउँघरमा यसरी आफ्नै उमेर समूहबिच आत्मीयता बढेकोले सहरबाट फर्किएपछि निकै खुसी भएको उनी बताउँछन् ।
उता रम्भा गाउँपालिका हुगीकी माया राना भन्छिन्– गाउँ घरमा कहिल्यै एक्लोपन भएन । बालबच्चा साना साना हुँदा श्रीमान् गुमाएकी उनी छोरा छोरीको पढाई लेखाइको काम सकिएपछि रोजगारको क्रममा छोराछोरी पोखरा पुगे । उनीहरूको आग्रहमा पोखरा सहर बसेको महिना दिनमै उनलाई कति बेला घर फर्कूँ जस्तो लागेको बताउँछिन् । घरमा कहिले कृषि समूहको बैठक हुन्थ्यो भने कहिले विद्यालय व्यवस्थापन समितिको बैठक । त्यसै गरी आमा समूह जस्ता धेरै समूहमा जोडिएकी उनलाई समय बितेको पत्तै हुदैन्थ्यो । तर, पोखरा आएपछि उनलाई समय बिताउन मुस्किल भयो । सबै आफ्ना आफ्ना काममा व्यस्त हुने, घरमा आए पनि मोबाइलमा व्यस्त हुँदा परिवारको माझमा पनि उनी आफूलाई एक्लो महसुस भएको बताउँछिन् ।
त्यसै गरी वगनासकाली गाउँपालिका पोखराथोकका ७३ वर्षीय हरिप्रसाद न्यौपाने बाध्यताका कारण छोरा बुहारीको साथ लागेर काठमाण्डौं बसोबास गर्न लागेको बताउँछन् । शहरले छोराछोरीलाई भौतिक सुविधासँगै रोजगारीको अवसर सबै दिए पनि बूढाबूढीका लागि भने सहर बिरानो भएको अनुभूति भएको सुनाउँछन् । उनी भन्छन्– छोरा छोरीको साथ खोज्दै काठमाण्डौं आइयो तर सहरले एक्लोपना दियो, आत्मीयता त उनीहरूको पुरानो वासस्थान गाउँ मै छुट्यो । उनको अनुभव छ– गाउँमा अभाव भए पनि छिमेकीसँग राम्रो सम्बन्ध थियो तर सहरमा त सम्बन्ध नजिक भए पनि टाढा हुनुपर्ने रहेछ ।