© 2026
सल्यान ।
सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन थालेको छ । लेखपोखरामा ९० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको घटस्थापनाका दिन आइतबार गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले उद्घाटन गरेका हुन् । वडा कार्यालयको प्रशासनिक कामकाज व्यवस्थित बनाउन र सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन नयाँ भवन उपयोगी हुने गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष फौदबहादुर बस्नेतले बताए ।
भवन निर्माणका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । न्यु तुलसी निर्माण कम्पनीले ५५ लाख रुपैयाँमा ठेक्का लिएर भवन निर्माण सम्पन्न गरेको हो ।
सात वडा रहेको छत्रेश्वरीमा वडा नं. ५ को भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ भने वडा नं. १ र ४ का प्रशासनिक भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
भवन उद्घाटन कार्यक्रममा विभिन्न टोलका झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै विभिन्न उपकरण तथा सामग्री वितरण गरिएको वडा सदस्य टङ्क वलीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्धकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो ।