Butwal Today

मोटरसाइकल दुर्घटनामा तीन जना घाइते 

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

सल्यान । 

राप्ती राजमार्ग अन्तर्गत सल्यानको भट्टाचौरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको खुट्टा भाँचिएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

शारदा नगरपालिका, ७ भट्टाचौरमा सोमबार बिहान भएको दुर्घटनामा पश्चिम रुकुमको मुसिकोट नगरपालिका, ६ का ३८ वर्षीय गिरिभान पुनको दाहिने खुट्टा भाँचिएको हो । दुर्घटनामा बागचौर नगरपालिका, ११ बाफुखोलाका ३४ वर्षीय विवेक बुढा र २३ वर्षीय ओमकार बुढा पनि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार बिहान करिब ९ः३० बजे ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०४७ प ८५१२ नम्बरको बुलेट मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ९५९८ नम्बरको एनएस मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा विवेकको छाती र दाहिने आँखामाथि चोट लागेको छ भने ओमकारको दाहिने आँखामा सामान्य चोट लागेको छ । पुनको दाहिने हातको माझी औँलामा समेत चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको सल्यान कर्णाली अस्पताल प्रालि श्रीनगरमा उपचार भइरहेको छ । विवेक र पुनको अवस्था मध्यम तथा ओमकारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुवै मोटरसाइकलमा क्षति पुगेको छ । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?