© 2026
बुटवल ।
बुटवल उपमहानगरपालिकाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको बुटवलदेखि नुवाकोटगढी जोडने पैदल मार्ग निर्माणको काम आईतबारदेखि सुरु गरेको छ ।
पदमार्ग निर्माणको कामको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल १ बुटवल मावि अगाडी एक कार्यक्रमबीच शुभारम्भ गरे ।
बुटवल–१ देखि पाल्पाको नुवाकोटसम्म करिब साढे तीन किलोमिटर लामो पैदल मार्ग निर्माण गर्न यसअघि आवश्यक बजेट विनियोजन गरिसकिएको थियो भने निर्माण कार्य अघि बढाउन सम्बन्धित पक्षबिच औपचारिक सम्झौता सम्पन्न भएको थियो ।
उपमहानगरपालिकाका इन्जिनियर किशोर खनालका अनुसार पदमार्ग निर्माणका लागि हिमान्जय कन्स्ट्रक्सनसँग आगामी चैत मसान्तसम्म सम्पन्न गर्ने गरी चार करोड १२ लाख रुपियाँमा निर्माण सम्झौता गरिएको छ ।
नगर प्रमुख खेलराज पाण्डेयले ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले बुटवल–नुवाकोट पदमार्गले स्थानीय इतिहास र सभ्यतालाई संरक्षण गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे।
यो पैदलमार्ग निर्माण भए पछि बिहानमा मर्निङवाकमा जानेहरुका लागि उपर्युक्त ठाउँ हुनेछ । पहिलो चरणमा पैदलमार्ग र दोस्रो चरणमा विभिन्न पुरातात्विक बिषयसंग सम्बन्धित निर्माणहरुको काम हुनेछ । त्यसैगरी तेस्रो चरणमा साईकल लेनको निर्माण गरि बुटवल र नुवाकोट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने लक्ष्य रहेको छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले ऐतिहासिक पदमार्गलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाइने बताउँदै पैदल यात्री तथा पर्यटकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने गरी बाटोको स्तरोन्नति, आवश्यक संरचना निर्माण, विश्राम स्थल तथा सुरक्षा व्यवस्थासमेत मिलाइने योजना उल्लेख गरे ।
बुटवल–नुवाकोट क्षेत्र ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यस मार्गको संरक्षण र विकासले बुटवललाई सांस्कृतिक तथा पदयात्रा पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास उपमहानगरपालिकाले लिएको छ ।