काभ्रेपलाञ्चोक ।
दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दसैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
विसं २०८१ असोजको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन गर्दै आएकामा यही असोज पहिलो साताको अविरल वर्षाको बाढीले रोशी खोलाको उक्त डाइभर्सन बगाएपछि हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको हो ।
“एक दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र कहीँकतै अप्ठ्यारो छैन”, कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने । उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सनसमेत प्रयोग गरिएको छ भने डालाबेँसी–पिप्ले सडकखण्डको करिब २०० मिटरमा डाइभर्सनमा यातायात सञ्चालन गराइएको छ ।
हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ । वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अवरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ । “दसैँमा यात्रा सहजताका लागि थप मर्मतकार्य भइरहेको छ”, योगेशले भने । यही असोज ८ गतेदेखिको बिहीबारदेखिको अविरल बर्षाका कारण डाइभर्सन बगाई पहिरो गई तथा लेदोले पाँच दिन बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो । त्यसयता पुनिर्निर्मित पुरानै सडक–ट्र्याकबाट सवारी आवागमन गराइएको योगेशले बताए । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको थियो ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै रोशीको बाढीले अस्थायी रूपमा बनाइएको डाइभर्सन बगाउने हुँदा अवरुद्ध भइहाल्थ्यो ।
हाल कार्यालयले पुनर्निर्मित ट्र्याकमा वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिनेगरी तथा अवरुद्ध भइहाले विविध ‘इक्युपमेन्ट’ प्रयोग गरी सकेसम्म आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको यागेशले बताए ।
उनका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट भदौदेखि आवागमन गाउँदै आइएको थियो । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई भने कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेकोसमेत छ ।
उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने ठूला ढुङ्गा राखेर सडक तयार गरिएको हो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राखिएको छ भने हिउँद लाग्दा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने जनाइएको छ ।