© 2026
सल्यान । विद्यालयका शिक्षक तथा कर्मचारीको तलब भुक्तानीमा हुने प्रशासनिक झन्झट घटाउन सल्यानको कपुरकोट गाउँपालिकाले नयाँ व्यवस्था लागू गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३ / ८४ देखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलब सिधै उनीहरूकै बैंक खातामा जम्मा गर्न थालेको हो ।
विद्युतीय कोष हस्तान्तरण (इएफटी) प्रणाली लागू गरेसँगै गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत करिब ३०० शिक्षक तथा कर्मचारीले तलब तथा चाडपर्व खर्च सिधै आफ्नो खातामा पाउन थालेका छन् । गाउँपालिकाले यस वर्षको साउन, भदौ र असोज महिनाको तलब तथा चाडपर्व खर्चसमेत भुक्तानी गरिसकेको जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरकुमार थापाका अनुसार यस अघि गाउँपालिकाले विद्यालयको खातामा तलब बापतको रकम पठाउने र विद्यालयले शिक्षक तथा कर्मचारीलाई भुक्तानी गर्ने व्यवस्था थियो । उक्त प्रक्रिया परिवर्तन गरी सम्बन्धित व्यक्तिकै बैंक खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको उनले बताए ।
गाउँपालिकाका अनुसार नयाँ प्रणालीले तलब भुक्तानीलाई सहज र व्यवस्थित बनाउनुका साथै आर्थिक कारोबारको अभिलेख राख्नसमेत सहयोग पुग्नेछ । शिक्षक तथा कर्मचारीको तलब भुक्तानीमा इएफटी प्रणाली प्रयोग गर्ने सल्यान जिल्लाकै पहिलो स्थानीय तह भएको गाउँपालिकाको दाबी छ ।
नयाँ व्यवस्थाले विद्यालयका प्रधानाध्यापक र लेखापालको प्रशासनिक कार्यबोझ घटाउने अपेक्षा गरिएको छ । जीवनज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट गाउँओआलिका वडा नं ५, रिमका प्रधानाध्यापक भुपाल साहुले तलब भुक्तानीका लागि गर्नुपर्ने काम घट्दा विद्यालयको नियमित कामकाज सहज हुने बताए ।
उनका अनुसार यस अघि शिक्षक तथा कर्मचारीको तलब भुक्तानीका क्रममा प्रशासनिक काममा समय खर्च गर्नुपर्ने अवस्था थियो । नयाँ प्रणालीले उक्त समय बचत गर्ने भएकाले शिक्षण सिकाइ तथा अन्य शैक्षिक गतिविधिमा बढी ध्यान दिन सकिने साहुको भनाइ छ ।
विद्यालयको प्रशासनिक कामलाई सहज बनाउँदै शैक्षिक गतिविधिका लागि समय उपलब्ध गराउने अपेक्षासहित गाउँपालिकाले तलब भुक्तानीको पुरानो प्रक्रियालाई परिवर्तन गरेको हो ।