Butwal Today

‘सुरक्षित दशैं यात्रामा सवैको ध्यान’

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

आजदेखि नेपालीको घर आँगनमा बडादशैंको प्रवेश भएको छ । बडादशैंको पहिलो दिन आज आज घटस्थापना हो । आजदेखि नौं रात्र सुरु भएको छ । दशैंको पहिलो दिनको प्रवेशसंगै विभिन्न स्थानबाट घर फर्किने यात्रुको चाप बढ्ने अवस्था छ । यही बेला गत सातादेखि परेको भीषण बर्षाका कारण मुलुकका धेरै सडक जोखिमपूर्ण छन् ।

काठमाण्डौंबाट चितवन आईपुग्न दर्जनौं स्थानमा पहिरोको जोखिमसंगै सडक भासिने समस्याले अहिले यात्रुलाई सास्ती भएको छ । दशैंको पूर्व सन्ध्यामा सडकको अवस्था बिजोग हुँदा यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ । दशैंमा घर जानैपर्ने बाध्यता छ । यो सडक खण्डमा मात्रै होइन, देशका धेरै सडकको यात्रा असुरक्षित बन्दै गएको अवस्था छ ।

नारायणगढ मुग्लिङ र मुग्लिङ काठमाण्डौं सडक त दुर्घटनाको पर्याय नै बनिसकेको छ । दुर्घटना आकस्मिक रूपमा हुने हुनाले त्यसलाई रोक्न सकिन्न तर सावधानी अपनाउन सकिएको खण्डमा दुर्घटना न्यूनिकरण हुने निश्चित छ । अहिले दशैंको बेला भएकोले यात्रुका लागि घर फर्किनुपर्ने बाध्यता छ । काठमाण्डौंबाट घर फर्किनेहरूको ताँती लाग्न थालेको छ ।

यो बर्ष काठमाण्डौबाट १० लाख नागरिक घर फर्किदैछन् । सार्वजनिक बसमा यात्रुको चाप छ । यस्तो बेला यातायात व्यवसायीले चालकलाई सचेत वनाउने, बसमा निर्धारित यात्रु संख्यामात्रै राख्ने तथा भार क्षमतामा निगरानी गर्नु जरूरी छ । त्यसैगरी दिनहुँ दुर्घटना र भबितब्यको संख्या बढ्ने अनि त्यो रोक्न आफूबाट हुनुपर्ने दायित्व पूरा नगर्ने सरकार जवाफदेहीको घेराबाट मुक्त हुन सक्दैन् ।

निश्चितरूपमा हरेक नेपालीलाई आफ्नो परम्परा, धर्म र संस्कृति अनुसारको पर्व मनाउने रहर र बाध्यता दुवै छ । बर्षको एकपटक आउने बडादशैंको रौनक हरेक घरमा आउँछ । यो बेला राष्ट्रिय राजमार्गमा ठूलो ट्राफिक चाप परेको छ । यस्तो बेला सुरक्षित र सहज यात्राको अधिकार कसरी सुनिश्चित गर्ने ? सोचनीय बिषय छ । एकातिर सार्वजनिक यातायातका साधनहरूको कमी र अर्कोतर्फ दुर्घटनाको जोखिमले यात्रुलाई गन्तब्य पुग्न समेत चुनौति थपिएको छ ।

हवाई यात्राको अवस्था पनि उही छ । शनिवार मात्रै पनि राजधानी छिर्ने र बाहिरिने क्रममा सवारी चापका कारण ठूलो जाम लागेको देखिएको छ । तसर्थ सडक यात्रा अहिले जोखिमपूर्ण रहेकोले यातायात व्यवसायी, सवारी चालक, यात्रु लगायत सवैले सावधानी अपनाउनु आवश्यक छ । सरकारी निकायले दसैँमा निर्धारित सिट संख्याभन्दा बढी यात्रु नराख्न जारी गरेको निर्देशन अनुसार यातायात व्यवसायीले सचेतना अपनाउनु जरुरी छ ।

यही बेला अहिले हवाई यात्रा अत्यन्त महंगो भएको छ । हवाई सेवा प्रदायक कम्पनीहरूले ठिक यही बेला हवाई भाडा महंगो बनाउँदा प्रधानमन्त्री बालेन्द्र शाहले भाडा नबढाउन निर्देशन दिएका छन् तर हवाई कम्पनीले सुनुवाई नगरेको गुनासो यात्रुको छ । अहिले अधिकांश यात्रुहरूको आर्थिक अवस्था र नेपाली चाडपर्वको महँगो या भड्किलो प्रवृत्तिका कारण उनीहरू सडक यात्रा नै रुचाउँछन् ।

त्यसैले पनि सहज र सुरक्षित यात्राको उनीहरूको अधिकार सुनिश्चित गर्ने दायित्वबाट सरकार पन्छिन पाउँदैन् । यस्तो बेलामा पनि भाडा बृद्धि गर्नेमाथि सरकारले कारवाही गरोस् । अतः सवैले सरकारको निर्देशन पालना गर्दै यात्रालाई सुनिश्चित र सुरक्षित वनाउनेतर्फ ध्यान दिनु जरुरी छ । यात्रुलाई बढी भन्दा बढी सुविधा दिएर गन्तब्यसम्म पु¥याउने दायित्वबाट यातायात व्यवसायी कुनैपनि मानेमा चुक्नु हुँदैन । अहिले प्राकृतिक प्रकोप चुनौति बनेकोले राष्ट्रिय राजमार्गमात्र होइन, पहाडी सहायक मार्गहरूमा समेत सुरक्षित यात्राको व्यवस्थापनमा सरकार र यातायात व्यवसायीको ध्यान जाओस् । देश अहिले अत्यन्त दुःखमा छ ।

भोटेकोशी बाढीको विनासले यो बर्षको दशैं खल्लो हुने निश्चित छ । तरपनि दशैं मान्नुपर्ने आफ्नै प्रकारको बाध्यता रहेकोले सकेसम्म भडकिलो नबनाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?