Butwal Today

१ सय ५९ वर्षदेखि नेपालगञ्जमा निरन्तर रामलीला

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

नेपालगञ्ज । पुस्तौँदेखि निरन्तरता पाउँदै आएको नेपालगन्जको ऐतिहासिक रामलीला महामहोत्सव यस वर्ष १५९औँ शृङ्खलामा प्रवेश गर्दैछ । धार्मिक आस्थासँगै कला, संस्कृति र सामाजिक सद्भावको प्रतीकका रूपमा स्थापित रामलीला महामहोत्सव आइतबारदेखि सुरु हुँदैछ । दस दिनसम्म चल्ने यस वर्षको मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकारको टोली नेपालगन्ज आइसकेको छ । नेपालगन्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको रामलीला महामहोत्सवको तयारी पूरा भएको रामलीला सञ्चालक समिति, नेपालगन्जले जनाएको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरी असोज २५ गते घटस्थापनादेखि रामलीला मञ्चन सुरु हुने जानकारी दिएको हो ।

समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाका अनुसार रामलीला मैदानमा हरेक दिन साँझ ८ बजेदेखि मध्यराति १२ बजेसम्म धार्मिक तथा पौराणिक कथामा आधारित नाट्य प्रस्तुति गरिनेछ । भगवान् श्रीराम र माता सीताको जीवनसँग सम्बन्धित विभिन्न प्रसङ्गलाई कलाकारहरूले अभिनयमार्फत दर्शकमाझ प्रस्तुत गर्नेछन् । रामलीलाको सुरुआत गर्नु अघि आइतबार दिउँसो २ बजे शोभायात्रासहित हुनेछ । राति ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यस वर्षको रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधारमणको नेतृत्वमा २५ सदस्यीय कलाकार टोली नेपालगन्ज आएको छ । टोलीले रामायणका विभिन्न महत्वपूर्ण घटनालाई नाटकीय शैलीमा प्रस्तुत गर्दै दर्शकलाई धार्मिक कथासँग जोड्नेछ । रामलीलाका क्रममा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप र श्रीरामको राज्याभिषेकलगायतका प्रसङ्ग मुख्य आकर्षणका रूपमा रहने रामलीला सञ्चालक समितिका प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए । धार्मिक ग्रन्थमा वर्णन गरिएका घटनालाई प्रत्यक्ष अभिनयका माध्यमबाट प्रस्तुत गरिने भएकाले रामलीला केवल कथा सुनाउने कार्यक्रम मात्र नभएर परम्परागत नाट्यकलाको अनुभव लिने अवसरसमेत रहेको समितिका अध्यक्ष कनोडियाले बताए । कलाकारको अभिनय, संवाद र मञ्च प्रस्तुतिमार्फत रामायणका पात्र तथा घटनालाई दर्शकमाझ जीवन्त बनाउने प्रयास गरिने कलाकारहरुले बताएका छन् ।

नेपालगन्जमा लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला महामहोत्सव यहाँको ऐतिहासिक र सांस्कृतिक धरोहरका रूपमा परिचित छ । समय परिवर्तनसँगै मनोरञ्जनका माध्यम र दर्शकको रुचिमा बदलाव आए पनि रामलीलाप्रतिको आकर्षण कायम रहनुले यसको सांस्कृतिक महत्वलाई उजागर गर्छ । रामलीलाले धार्मिक आस्थालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा मात्र नभई परम्परागत कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने अवसर पनि प्रदान गर्दै आएको छ । हरेक वर्ष आयोजना हुने मञ्चनले पुराना पुस्ताको सांस्कृतिक स्मृतिलाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई रामायणका कथासँग परिचित गराउने भूमिका खेल्छ ।

यस्ता सांस्कृतिक आयोजनाको निरन्तरताले कुनै पनि सहरको पहिचान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ । नेपालगन्जका लागि रामलीला पनि त्यस्तै परम्परा हो, जसले धार्मिक आस्थालाई सार्वजनिक सांस्कृतिक गतिविधिसँग जोड्दै आएको छ । नेपालगन्जमा आयोजना हुने रामलीला हेर्न बाँकेका विभिन्न स्थानका साथै दाङ, बर्दिया र सुर्खेतलगायतका जिल्लाबाट उल्लेख्य संख्यामा दर्शक आउने गरेका छन् । सीमावर्ती भारतीय क्षेत्र उत्तर प्रदेशबाट समेत दर्शक सहभागी हुने भएकाले यसको आकर्षण स्थानीय सीमाभन्दा बाहिरसम्म फैलिएको छ ।

नेपालगन्ज र भारतीय सीमावर्ती क्षेत्रबीच लामो समयदेखि कायम धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई यस्ता उत्सवले थप नजिक ल्याउने गरेका छन् । रामलीला सञ्चालक समितिका अनुसार यस वर्षको महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक तयारी पूरा गरिएको छ । मञ्च निर्माण, प्रकाश व्यवस्थापन, कार्यक्रमस्थलको सरसफाइ तथा कलाकारहरूको बसोबासलगायतका काम सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ । कलाकारहरूको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको अध्यक्ष कनोडियाले बताए ।

दस दिनसम्म सञ्चालन हुने महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन सञ्चारकर्मी तथा सञ्चारमाध्यमसँग समितिले सहयोगको आग्रह गरेको छ । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा सबै पक्षको सामूहिक सहभागिता आवश्यक रहेको अध्यक्ष कनोडियाको भनाइ छ । नेपालगन्जको पहिचानसँग जोडिएको १५९औँ रामलीला महामहोत्सवले यस वर्ष पनि धार्मिक कथा, परम्परागत नाट्यकला र सांस्कृतिक निरन्तरताको अनुभव गराउने अपेक्षा गरिएको छ । पुस्तौँदेखि चल्दै आएको यो परम्परा आगामी पुस्तासम्म कसरी हस्तान्तरण हुन्छ भन्ने विषय यसको संरक्षण र प्रवद्र्धनसँग पनि जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?