© 2026
अर्घाखाँची ।
अर्घाखाँचीमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यसहित खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय रमा देवीको स्मृतिमा उनको परिवारले ‘स्वर्गीय रमा देवी मेमोरियल टी–१० क्रिकेट कप’ आयोजना गर्न लागेको हो।
प्रतियोगिता यहीँ असोज २७ गतेदेखि सन्धिखर्कको टुडीखेलमा सञ्चालन हुने आयोजक परिवारका शोभाखर खत्रीले बताएका छन् ।
प्रतियोगिताको ट्रफी आज पत्रकार सम्मेलन गरि स्वर्गीय रमादेवीका श्रीमान कुलबहादुर क्षेत्रीले सार्वजनिक गरेका छन् ।
जम्मा १६ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ६० हजार रुपैयाँ पाउने आयोजक परिवारका सदस्य स्वर्गीय रमादेवीका छोरा राज क्षेत्रीले जानकारी दिए । स्वर्गीय आमाको सम्झनामा क्रिकेट आयोजना गरिएको छोरा राजले बताएका छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी अर्थात् म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘म्यान अफ द म्याच’लाई दुई हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
स्वर्गीय रमा देवीको स्मृतिलाई जीवन्त राख्दै खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगिताले जिल्लाको क्रिकेट विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषिकेष भट्टराईले बताएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्तरीय क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गर्ने आयुसा भुसाललाई क्रिकेट कीट प्रदान गरि सम्मान गरिएको थियो ।