© 2026
नेपालगञ्ज ।
विगतका बर्षहरुमा बाँकेका सिमसार, तालतलैया र सडक किनारमा जङ्गली धान प्रशस्त देखिन्थ्यो । तर, त्यो अवस्था अहिले रहने । जङ्गली धान यस वर्ष उल्लेख्य रूपमा घटेको छ । पहिले धेरै हुने क्षेत्रमा पनि यो बर्ष निकै कम मात्रामा धान उम्रिएको पाइएको छ । जङ्गली धानको यो अप्रत्याशित गिरावटले संरक्षणकर्मीहरुलाई चिन्तित बनाएको छ ।
बाँकेमा मात्र गत वर्ष करिब चार बिघा क्षेत्रफलमा जङ्गली धान फैलिएको अनुमान गरिएकामा यस वर्ष करिब ५० प्रतिशत कमी आएको संरक्षणकर्मी र अनुसन्धानमा संलग्न विज्ञहरूले बताएका छन् । गत वर्ष धानको उपस्थिति उल्लेख्य रहेका कतिपय स्थानमा यसपालि शून्य अवस्था देखिएको छ भने अन्य क्षेत्रमा २० देखि २५ प्रतिशतसम्म मात्र उम्रिएको पाइएको छ ।
जङ्गली धान हराउँदै जानुको कारण पत्ता लगाउन नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जीन बैंक, खुमलटारले बाँकेसहित पश्चिम नेपालका विभिन्न जिल्लामा पुनःः अध्ययन थालेको छ । बैंकले बाँके, बर्दिया, कैलाली, कपिलवस्तु र पाल्पामा पाइने जङ्गली धानको अवस्था, प्रजातिगत विशेषता र दीर्घकालीन संरक्षणका सम्भावनाबारे अनुसन्धान अघि बढाएको हो ।
जीन बैंकका धान प्रजनन विज्ञ डा. मुकुन्द भट्टराईका अनुसार जङ्गली धानको अवस्था बुझ्न बाँकेका सम्भावित सिमसार क्षेत्र र तालतलैयाको स्थलगत अवलोकन गरिएको छ । तर, गत वर्ष प्रशस्त धान देखिएका दुई स्थानमा यस वर्ष पुग्दा धान फेला परेन ।
“गत वर्ष बाँकेका अधिकांश ताल तथा सडकछेउका क्षेत्रमा ८० देखि ९० प्रतिशतसम्म जङ्गली धान भेटिएको थियो । यस वर्ष कतिपय क्षेत्रमा शून्य र कतिपयमा २० देखि २५ प्रतिशतसम्म मात्रै देखिएको छ,” भट्टराईले भने, “धान किन घट्यो र स्थानीयको अनुभव के छ भनेर अध्ययन गरिरहेका छौँ । वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ ।”
उनका अनुसार जङ्गली धान घट्नुको कारण तत्कालै यकिन गर्न सकिने अवस्था छैन । गाईवस्तुले खाएको, पानीको सतह अत्यधिक बढेको वा कमलका पातले ढाकिएका कारण धान उम्रन नसकेको अथवा देखिन नसकेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । यद्यपि, यीमध्ये कुन कारण मुख्य हो भन्ने निष्कर्षमा पुग्न थप दुईदेखि तीन वर्षसम्म अध्ययन गर्नुपर्ने हुन सक्छ ।
पोखरी विस्तारसँगै हरायो जङ्गली धान
बाँकेको कोहलपुर नगरपालिका–२ स्थित गिद्धेनी चौरमा रहेको प्राकृतिक सिमसार क्षेत्र जङ्गली धानको अवस्था बुझ्न पुगेका अनुसन्धानकर्ता र संरक्षणकर्मीका लागि चिन्ताको विषय बनेको छ । गत वर्ष प्रशस्त जङ्गली धान देखिएको उक्त क्षेत्रमा यसपालि धान फेला नपरेपछि यसको अस्तित्वमाथि प्रश्न उठेको हो ।
कोहलपुर–२ मनकामनाका चन्द्रबहादुर जिसीको नेतृत्वमा स्थानीय तथा सामुदायिक वनका प्रतिनिधिसहितको टोली गिद्धेनी चौर पुगेको थियो । जीन बैंक र कृषक समूहको संयुक्त पहलमा गरिएको अवलोकनका क्रममा टोलीले गत वर्षको तुलनामा सिमसार क्षेत्रको अवस्था फरक पायोे ।
जिसीका अनुसार गत वर्ष पोखरी आसपासको क्षेत्रमा प्रशस्त जङ्गली धान देखिएको थियो । तर, वन्यजन्तुलाई पानीको व्यवस्था गर्न पोखरी विस्तार गर्ने र सफाइ गर्ने क्रममा जङ्गली धान नष्ट भएको हुन सक्ने उनको अनुमान छ ।
जनएकता मध्यवर्ती सामुदायिक वनकी अध्यक्ष पुण्यप्रभा मल्ल र देउराली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रबहादुर खत्रीले पनि गत वर्ष गिद्धेनी चौरको मचान नजिकैको सिमसारमा धान प्रशस्त देखेको स्मरण गरे । मल्लले वन्यजन्तुले धान खाएको हुन सक्ने आशङ्का गरिन् भने खत्रीले सिमसारलाई विस्तार गरी ठूलो पोखरी बनाउँदा यसको प्राकृतिक बासस्थान प्रभावित भएको हुन सक्ने बताए ।
यद्यपि, पोखरी विस्तार, वन्यजन्तुको चरन वा पानीको सतहमा आएको परिवर्तनमध्ये कुन कारणले धान घटेको हो भन्ने विषयमा वैज्ञानिक पुष्टि हुन बाँकी छ । स्थानीय संरक्षणकर्मीले बाँकी रहेका बीउ सङ्कलन गरी सुरक्षित राख्ने र उपयुक्त सिमसार क्षेत्रमा पुनः संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाँच वर्षदेखि संरक्षणमा जुटेका अभियन्ता चिन्तित
जैविक विविधता संरक्षण अभियन्ता पुरमल बस्नेत पाँच वर्षभन्दा बढी समयदेखि बाँकेमा जङ्गली धानको खोजी र संरक्षणमा सक्रिय छन् । जीन बैंकसँगको सहकार्यमा लगातार दुई–तीन वर्षसम्म गरिएको अवलोकनपछि बाँकेका विभिन्न स्थानमा जङ्गली धान रहेको पुष्टि भएको थियो । गत वर्ष यसको व्यापक उपस्थिति देखिएपछि संरक्षणकर्मीमा उत्साह थपिएको थियो । तर, यस वर्षको अवस्थाले उनीहरूलाई निराश बनाएको छ ।
बस्नेतका अनुसार कोहलपुरदेखि मानखोलासम्मका सडक किनार तथा धम्बोझीदेखि मानखोलासम्मका विभिन्न स्थानमा गत वर्ष जङ्गली धान प्रशस्त देखिएको थियो । यसपालि भने कतिपय ठाउँमा पूर्णरूपमा हराएको छ भने केही स्थानमा थोरै मात्रामा बाँकी छ ।
कोहलपुर नगरपालिका–२ मा सशस्त्र प्रहरीको क्याम्पनजिकै राजमार्ग छेउमा रहेको क्षेत्रमा गत वर्ष जङ्गली धान प्रशस्त थियो । यस वर्ष त्यहाँ कमलका फूल फुलेका छन् । बस्नेतले उक्त क्षेत्रमा दुई–तीन फिटसम्म अग्लिएका जङ्गली धानका बोट देखे पनि पछि गाईवस्तुले खाएको र पानीको मात्रा बढेपछि बोट पानीमुनि परेको हुन सक्ने अनुमान गरे ।
उनका अनुसार गत वर्ष जङ्गली धान संरक्षण र जनचेतना अभिवृद्धिका लागि कोहलपुर नगरपालिका–२ र ८ मा दुईवटा सूचना बोर्डसमेत राखिएका थिए । तर, सूचना बोर्ड राख्नु मात्र पर्याप्त नभएको पछिल्लो अवस्थाले देखाएको छ ।
“घट्दो क्रममा रहेको जङ्गली धान कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ,” बस्नेतले भने, “बीउ संरक्षणका लागि सार्वजनिक तथा सामुदायिक तालतलैया खोज्दै हिँडिरहेका छौँ ।”उनले जलवायु परिवर्तनले पनि यसको वृद्धिमा असर पारेको हुन सक्ने बताए । यद्यपि, यसको प्रभाव कति छ भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ । बस्नेतका अनुसार बाँके, बर्दिया र कैलालीका स्थानीय तहले जङ्गली धान संरक्षणलाई पर्याप्त प्राथमिकता दिएका छैनन् ।
“स्थानीय सरकारले सडक, पुलपुलेसा र बिजुलीबत्तीलाई मात्रै विकासका रूपमा हेर्ने गरेको पाइन्छ । लोप हुन लागेका प्राकृतिक सम्पदाको संरक्षणमा पर्याप्त चासो देखिएको छैन,” उनले भने ।
गत वर्ष विभिन्न स्थानबाट सङ्कलन गरिएका जङ्गली धानका केही बीउ जीन बैंकमा सुरक्षित राखिएको उनले जानकारी दिए । ती बीउमध्ये केहीलाई आगामी वैशाख–जेठमा बाँकेलगायत विभिन्न जिल्लाका उपयुक्त तालतलैयामा राखेर संरक्षण गर्ने योजना रहेको छ ।
नयाँ धानका जात विकास गर्न उपयोगी
जङ्गली धान केवल प्राकृतिक रूपमा उम्रिने धान मात्र होइन, आधुनिक धानका जातमा उपयोगी गुण थप्न सकिने महत्वपूर्ण आनुवंशिक स्रोत पनि हो । यसमा पाइने विशेषताले भविष्यमा बाढी, डुबान, रोगकिरा तथा प्रतिकूल मौसमको सामना गर्न सक्ने धानका नयाँ जात विकास गर्न सहयोग पु¥याउन सक्छ ।
डा. भट्टराईका अनुसार बाँकेमा गत वर्ष ‘निवारा’ र ‘रुफिपोगन’ प्रजातिका जङ्गली धान प्रशस्त मात्रामा भेटिएका थिए । यी दुवै प्रजातिको पानीमा अनुकूल हुने क्षमता भने फरक छ । निवारा सतही पानीदेखि करिब डेढ मिटरसम्म गहिराइमा उम्रन सक्छ भने रुफिपोगन गहिरा तालपोखरीमा समेत पाइन्छ ।
गत वर्ष पोखराको फेवा ताल, बेगनास ताल र कैलालीको घोडाघोडीजस्ता तालमा समेत रुफिपोगन प्रजाति भेटिएको भट्टराईले बताए । ती स्थानमा पनि यस वर्ष अध्ययन जारी छ ।
तराईका विभिन्न जिल्लामा निवारा र रुफिपोगन भेटिँदा पहाडी वन क्षेत्रमा पाइने ‘ग्रानुलाटा’ प्रजाति भने चितवनको लोथरमा फेला परेको उनले जानकारी दिए । उक्त प्रजातिमा सुक्खा सहन सक्ने क्षमता रहेको अनुसन्धानले देखाएको छ ।
भट्टराईका अनुसार जङ्गली धानमा डुबान सहन सक्ने, रोग किराको प्रतिरोध गर्ने, असिनाबाट कम क्षति हुने र फट्याङ्ग्राले कम खानेजस्ता उपयोगी गुण पाइन्छन् । ती विशेषताको पहिचान गरी खेती गरिने धानमा स्थानान्तरण गर्न सके प्रतिकूल अवस्थामा समेत उत्पादन सुरक्षित राख्न सक्ने नयाँ जात विकास गर्न सकिने सम्भावना छ ।
उनका अनुसार जङ्गली धानका उपयोगी गुण पहिचान गरी अर्को धानमा स्थानान्तरण गरेर नयाँ जात विकास गर्न करिब १२ वर्षसम्म लाग्न सक्छ । आफूले सन् २००० देखि नै जङ्गली धानसम्बन्धी अनुसन्धान गर्दै आएको बताउँदै उनले जीन स्थानान्तरणका विषयमा प्रारम्भिक अनुसन्धान र परीक्षणसमेत भइसकेको जानकारी दिए । अहिले धानमा लाग्ने रोगकिरा, जङ्गली जनावरबाट हुने क्षति तथा बाढी र डुबानका समस्यालाई ध्यानमा राखेर थप अनुसन्धान गर्ने तयारी छ ।
जंगली धान दुई सय वर्ष पुरानो
डा. भट्टराईका अनुसार नेपालमा खेती गरिने धानको प्रमुख प्रजाति ‘ओराइजा सटाइवा’ हो । यसै प्रजातिका विभिन्न गुण छनोट र विकास गर्दै अग्लो–होचो, मसिनो–मोटो, बास्नादार वा कम बास्नादार तथा छिटो वा ढिलो पाक्ने जात बनाइएका छन । जङ्गली धानमा भने प्राकृतिक रूपमा विकसित भएका फरक–फरक गुण पाइन्छन्, जुन भावी अनुसन्धानका लागि महत्वपूर्ण हुन सक्छन् ।
विज्ञहरूका अनुसार नेपालमा जङ्गली धान करिब दुई सय वर्षअघिदेखि रहिआएको अनुमान छ । अघिल्ला पुस्ताले यसलाई ‘चोखो धान’ मानेर व्रतका बेला खाने परिकारका रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । कपिलवस्तुमा अझैपनि यसको प्रयोग हुने गरेको भट्टराईले बताए ।
जङ्गली धानका दाना क्रमशः झर्ने भएकाले बीउ सङ्कलन गर्न कठिन हुन्छ । तर, पानीभित्र खसेका बीउ एक वर्षसम्म सुरक्षित रहन सक्ने र अर्को मौसममा पुनः उम्रिन सक्ने विशेषता यसमा रहेको विज्ञहरूको भनाइ छ । यही कारण यसको प्राकृतिक बासस्थान सुरक्षित राख्नु संरक्षणको महत्वपूर्ण उपाय मानिन्छ ।
गत वर्ष धानको आनुवंशिक विशेषता अध्ययन गर्न कैलालीबाट १० र बाँकेबाट १२ वटा नमुना सङ्कलन गरिएको थियो । ती नमुनाको डीएनए परीक्षण तथा अन्य अध्ययनबाट प्रजातिगत विशेषता पहिचान गर्ने काम अघि बढाइएको छ । जीन बैंकले सङ्कलित बीउ सुरक्षित राख्नुका साथै देशका विभिन्न तालतलैयामा थोरै मात्रामा भए पनि दीर्घकालीन संरक्षण गर्ने योजना बनाएको छ ।
संरक्षणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण
जङ्गली धानको महत्व वैज्ञानिक अनुसन्धानमा मात्र सीमित छैन । यसको अस्तित्वसँग नेपालको कृषि जैविक विविधता र भविष्यमा खाद्य सुरक्षा सुदृढ बनाउने सम्भावना पनि जोडिएको छ । तर, यसको प्राकृतिक बासस्थान नष्ट हुँदै जाने र स्थानीय तहमा संरक्षणसम्बन्धी चेतना कमजोर रहने हो भने महत्वपूर्ण आनुवंशिक स्रोत गुम्न सक्ने जोखिम छ ।
बस्नेतले स्थानीय तह, वडा कार्यालय र कृषि शाखाले यसको संरक्षणलाई योजनामा समेट्नुपर्ने बताए । विद्यालयका पाठ्यपुस्तकमा जैविक विविधता र जङ्गली धानको महत्व समावेश गर्ने, समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सामुदायिक तालतलैयालाई संरक्षण क्षेत्रका रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ । उनका अनुसार कोहलपुर नगरपालिकाको कृषि शाखामा जङ्गली धान संरक्षणका लागि छुट्टै योजना नरहेको जानकारी पाइएको छ । बजेटमा समावेश भएका कार्यक्रमलाई प्राथमिकता दिइने गरिएको शाखाको भनाइ छ । यसले स्थानीय तहको विकास योजनामा जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएको छ ।
जीन बैंकले स्थानीय जातका बाली तथा तिनका आनुवंशिक स्रोतको खोज, अनुसन्धान र संरक्षण गर्दै आएपनि प्राकृतिक बासस्थानको दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय सरकार र समुदायको सहभागिता अनिवार्य रहेको डा. भट्टराई बताउँछन् । बाँकेमा अध्ययनपछि पश्चिम नेपालका अन्य क्षेत्रमा र त्यसपछि पूर्वी नेपालमा अनुसन्धान विस्तार गर्ने योजना छ । चितवनको लोथरमा पाइने ग्रानुलाटा प्रजातिको अध्ययन पनि अघि बढाइने उनले जानकारी दिए ।