Butwal Today

सहकारीमार्फत स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न जोड

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

चन्द्रौटा । शिवराज नगरप्रमुख थापाले सहकारीमार्फत स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताए । जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित शिवराज कृषि सहकारी संस्था लिमिटेडको ११औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सहकारीले सामुदायिक विकास तथा आम्मनिर्भर हुन सहकारीले स्वारोजगारका योजना ल्याउन आवश्यक रहेको उनले जिकिर गरे । सदस्यहरूलाई आफ्नो बचत तथा आर्थिक कारोबारको विवरणबारे सचेत रहन नगरप्रमुख थापाले आग्रह गरे । सहकारी संस्थाले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न बचत गर्ने बानीको विकाससँगै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए । सहकारीलाई केवल बचत तथा ऋणको कारोबारमा सीमित नराखी कृषि, पशुपालन तथा अन्य आयआर्जनका कार्यक्रममार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोडदिए ।

यसैबीच वडा नम्बर–३ का अध्यक्ष टेकलाल सापकोटाले सहकारीले किसानलाई बचत गर्ने बानीको विकाससँगै बीउ–बिजन, मलखाद, आईएमईलगायत सेवा उपलब्ध गराउँदै आएको कार्य प्रशंसा गरे । सहकारीको आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे । सदस्यहरूले आफ्नो बचत, ऋण तथा अन्य आर्थिक कारोबारको नियमित जानकारी राख्नुपर्ने सापकोटाले बताए । सहकारीको दिगोपनका लागि सञ्चालक समिति र सदस्यबीच आपसी विश्वास, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको उनले धारणा राखे ।

संस्थाका अध्यक्ष केर सिंह अदै आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनका अनुसार सहकारीले आगामी वर्ष ६ लाख रुपैयाँको बीउ–बिजन, १५ लाख रुपैयाँको मलखाद तथा ८० लाख रुपैयाँको पशुपालन तथा कृषि ऋण कारोबार गर्ने लक्ष्य लिएको छ । गत आर्थिक बर्षमा सहकारीले एक करोड १८ लाख ३६ हजार ७९० रुपैयाको कारोबार गरेको प्रतिबेदनमा उल्लेख छ । अध्यक्ष अदैका अनुसार सभाले परिमार्जित सहकारी नियमअनुसार आवश्यक नियम बनाउने, सदस्यको कार्ड बनाउने, किसानलाई मलखाद कार्ड उपलब्ध गराउने र महिला शेयर सदस्यलाई उद्यमसम्बन्धी तालिम दिनेलगायत निर्णय गरेको छ । यस्तै सहकारीले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १० हजार २५० रुपैयाँ सहयोग समेत गरेको छ । रामबहादुर चमार, तिना अदै, तिकमाया भण्डारीलगायतले बिहीबार कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?