© 2026
दाङ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास, सेवा विस्तार र स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मेहताले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।
अन्तरक्रियामा प्रतिष्ठानको सेवा विस्तार, भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा सर्वसाधारणलाई सहज र सुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो । प्रतिष्ठानको संस्थागत क्षमता सुदृढ गर्दै यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन आवश्यक पहल र सुधारका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यस क्षेत्रको स्वास्थ्य सेवाको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको विकास र सेवा प्रवाहमा सुधार आवश्यक रहेको बताए । प्रतिष्ठानलाई नागरिकले विश्वास गर्न सक्ने गुणस्तरीय स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी, अर्का सभासद कमल सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि स्वास्थ्य सेवाको सुधारसँगै प्रशासनिक प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए । सेवा प्रवाहलाई सहज, पारदर्शी र परिणाममुखी बनाउन प्रशासनिक सुधारलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान तथा प्रतिष्ठानका पदाधिकारीहरूको सहभागिताले प्रतिष्ठानको विकास, सेवा विस्तार र संस्थागत सुधारका विषयमा सम्बन्धित निकायबीच समन्वय र सहकार्यको आवश्यकतालाई थप महत्त्व दिएको थियो ।
कार्यक्रममा मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति प्राडा. अजयकुमार मिश्र र रजिस्ट्रार प्रा.श्याम लम्साललगायतले प्रतिष्ठानको हालसम्मको सेवा बिस्तार बारे चर्चा गरेका थिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियालाई प्रतिष्ठानको भावी विकासको दिशा तय गर्ने, विद्यमान चुनौती पहिचान गर्ने र स्वास्थ्य सेवालाई थप गुणस्तरीय तथा सर्वसुलभ बनाउने विषयमा साझा प्रतिबद्धता निर्माण गर्ने अवसरका रूपमा हेरिएको छ ।