Butwal Today

युवालाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न अनुकूल वातावरण बनाउँदै छौँः सञ्चारमन्त्री

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।

नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

उनले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाएर युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्ने तथा आर्थिक समुन्नति हासिल गर्ने अवसर दिनुपर्नेमा जोड दिए । यसका लागि सरकारले अनुकूल वातावरण बनाउने र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।

विश्वभर युवा पुस्ताको उद्यमशीलताप्रतिको आकर्षण र संलग्नता बढ्दै गएको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपालमा पनि युवाको क्षमता र सम्भावनालाई उत्पादन, सेवा तथा प्रविधिका क्षेत्रमा उपयोग गर्न सहजीकरण भइरहेको बताए । उद्यमशीलता र नवप्रवर्तनको विकासका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले बताए ।

सूचना प्रविधिका क्षेत्रमा नयाँ जनशक्ति र विज्ञ विकास हुँदै गएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको आर्थिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

ठूलो सङ्ख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेको अवस्थामा सूचना प्रविधिको माध्यमबाट विश्व बजारमा नेपाली सेवा पुर्‍याउन सकिने उनको भनाइ थियो । “अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ। सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ। यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ,” उनले भने ।

सूचना प्रविधिको सम्भावना उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उनले बताए । दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित यसै वर्ष फाइभ–जी सेवा सुरु गर्ने गरी काम भइरहेको उनको भनाइ थियो ।

सूचना प्रविधिका क्षेत्रमा उपलब्ध अवसरबाट मुलुकले बढी आर्थिक लाभ लिन सक्ने उपायबारे सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिँदै उनले प्रविधिको विस्तारलाई रोजगारी, उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताए ।

प्रविधि र मानवीय सिर्जनशीलताबीचको सम्बन्धमा जोड दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले प्रविधिले काम गर्ने तरिका परिवर्तन गर्न सक्ने भए पनि मानिसको महत्त्व घटाउने नभई उसको क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

“प्रविधिलाई मानवीय सिर्जनासँग जोड्न सक्नुपर्छ र त्यसबाट अधिकतम लाभ लिनुपर्छ। सूचना प्रविधिले कामको प्रकृति परिवर्तन गर्न सक्छ, तर यसले मानिसको महत्त्व घटाएको छैन । प्रविधिलाई एउटा उपकरणका रूपमा प्रयोग गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ,” उनले भने ।

सरकारको जिम्मेवारी नीति निर्माणमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले नीतिको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक, उद्यमी र समग्र अर्थतन्त्रले प्रत्यक्ष लाभ प्राप्त गर्ने अवस्था निर्माण गरिने बताए ।

शिक्षा र सीप विकासको बदलिँदो प्रवृत्तिबारे चर्चा गर्दै उनले विगतमा शैक्षिक योग्यता हासिल गर्नुलाई बढी प्राथमिकता दिने गरिएकामा अहिले भविष्यमा आवश्यक पर्ने सीप र क्षमतामा आधारित शिक्षातर्फ ध्यान बढ्दै गएको बताए । युवालाई बजारको मागअनुसार दक्ष बनाउँदै उद्यमशीलताका लागि तयार गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सुदन झाले कृत्रिम बौद्धिकता ९एआई० का क्षेत्रमा नेपालको अवस्था सुधार हुँदै गए पनि अझै कमजोर रहेको बताए । उनले एआई र उद्यमशीलताका क्षेत्रमा नेपाली युवाको सहभागिता बढ्दै गएको तथा सूचना प्रविधिका क्षेत्रमा लगानीसमेत विस्तार भइरहेको उल्लेख गरे । यस अवसरको उपयोग गर्न सरकारले एआईसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको उनले बताए ।

डा. झाले एआईको उपयोगबाट सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन, अर्थतन्त्रमा योगदान बढाउन, तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्न तथा विभिन्न क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । उत्पादन र उत्पादकत्व वृद्धि गरी अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउनसमेत एआईले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो ।

एआईले विभिन्न समस्या समाधान गर्न सहज बनाउनुका साथै कामको दक्षता बढाउन सहयोग गरिरहेको उल्लेख गर्दै उनले यस प्रविधिको उचित उपयोगबाट नेपालले पनि लाभ लिन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?