© 2026
जनताका लागि हुलाक भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाईदैछ । यो दिवसको महत्व आजपनि उत्तिकै छ । किनभने हुलाकको सेवा आम नागरिकका लागि अत्यावश्यक छ । देश तथा विदेश जहाँ रहेपनि हुलाक दैनिक जीवनसंग जोडिएको छ । हुलाक सेवा विश्वसनीय पनि बन्दैछ । सरकारको हुलाक सेवा मात्रै होइन, पछिल्लोसमय नीजि क्षेत्रले समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुलाक सेवा प्रदान गर्दै आएका छन् । नेपालको सन्दर्भमा हुलाक सेवाको इतिहास लामो र गौरवपूर्ण छ ।
देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत राज्यको उपस्थिति पु¥याउन हुलाक सेवाले महत्वपूर्ण योगदान दिएको छ । आज मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल र डिजिटल सञ्चारले चिठीपत्रको प्रयोग घटेपनि सबै नागरिकको डिजिटल पहुँच समान छैन । त्यसैले हुलाकलाई बिकसित परिस्थितिमा यसको भूमिकालाई समयसापेक्ष गर्नु जरुरी छ ।
त्यसकारण हुलाक सेवाले आफ्नो परम्परागत ढाँचाभन्दा माथि उठेर आधुनिक र प्रविधिमैत्री सेवा विस्तार गर्न आवश्यक छ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा भरपर्दो सेवा पु¥याउन हुलाकको पूर्वाधारलाई उपयोग गर्न सके यसले राज्यको सेवा नागरिकको घरदैलोसम्म पु¥याउन ठूलो योगदान दिन सक्छ ।
अर्कोतर्फ विदेशमा रहेका छोराछोरीले नेपाल घरमा केही पार्सल पठाउनु परे सबैभन्दा भरपर्दो यही हुलाक नै भएको छ । त्यसैगरी नेपालमा भएका परिवारले विदेश बस्ने आफन्तलाई केही बस्तु पठाउनु परे हुलाक सेवा नै प्रयोग गरिरहेका छन् । सरकारीमात्रै होइन, नीजि क्षेत्रले समेत हुलाक सेवा विश्वसनीय र प्रभावकारी बनाउँदै लगेका छन् । हुलाकीको रूपमा आजपनि चिठी, महत्वपूर्ण डकुमेण्ट, अत्यावश्यक औषधी लगायतका सामान बोकेर सेवा प्रदान गरिदै आएको छ । बिगतकै कुरा गर्ने हो भने देश परदेश गएका लाहुरेदेखि स्वदेशकै विभिन्न स्थानसम्म चिठीपत्र पु¥याउन हुलाकले महत्वपूर्ण भूमिका खेलेको विर्सन सकिदैन् । हुलाकले विश्वास आर्जन गरेको थियो ।
हुलाकबाट पठाएको चिठीपत्र डकुमेन्ट ढिलो भएपनि पुग्छ भन्ने विश्वास अहिलेपनि कायमै छ । आजको दिन चिठी लिएर घर घरमा पुग्ने हुलाकीको सम्झना गर्ने दिन पनि हो । किनभने हुलाकको इतिहास बचाउन हुलाकीको ठूलो योगदान छ । अहिले जस्तो सहज सूचनाको पहुँच नभएको बेला त्यतिबेला हुलाकीहरू नै सूचनाको श्रोत थिए । इतिहासको कुरा गर्दा नेपालले वि.सं. २०१३ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो ।
यद्यपि अहिले सूचना प्रविधिमा भएको विकास र चमत्कारले अहिले हुलाकको भूमिका साँघुरिदै गएको छ । हुलाकको परम्परागत भूमिकामा अहिले ह्रास भएको अनुभूति भएको छ । हुलाकको काममा परिवर्तन आएपनि हुलाक सेवाले दिने भूमिका अझै बढ्दै गएको छ । विश्वका हुलाक सम्वद्ध निकायले प्रविधिको परिवर्तनसंगै त्यसको भूमिकालाई अझै विस्तार र चौडा बनाउँदै लगेका छन् । नेपालले हुलाकको भूमिकालाई थप सशक्त र जिम्मेवार बनाउन जरुरी छ । त्यसका लागि सीमित घेरामा साँघुरिएको हुलाकको जिम्मेवारीलाई अझै फराकिलो बनाउनेतर्फ प्रयास गर्नु आवश्यक छ ।
विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसाथ गर्दै हामीले पनि हुलाक सेवालाई भरपर्दो, विश्वसनीय र प्रतिष्पर्धी बनाउनु जरुरी छ । त्यसका लागि हुलाक सेवाको समग्र संरचनामा परिवर्तन गर्नु जरुरी छ । नेपालमा हुलाकको प्रभावकारीता अझै बढाउने हो भने सवै सरकारी कार्यालयका दस्तावेजहरू हुलाकमार्फत नै ओसारपसारको ब्यवस्था मिलाउनेतर्फ जोड दिनुपर्दछ । हुलाक सेवालाई समयानकूल बनाउन यससंग सम्बद्ध पक्षको क्षमता विकासमा सरकारले ध्यान दिनु आवश्यक छ । हुलाकको महत्व अझै बढाउनेतर्फ अवको ध्यान जाओस् ।
सूचना र सञ्चार प्रविधिको तीव्र विकाससँगै हुलाक सेवाको परम्परागत भूमिका फेरिएको भए पनि यसको आवश्यकता र महत्व भने झनै बढ्दै गएको छ । बरु बदलिँदो समय अनुसार हुलाकलाई रूपान्तरण गर्दै हुलाक सेवा नागरिकको पहुँच, सार्वजनिक सेवा र सामाजिक सम्बन्धको महत्वपूर्ण माध्यम बनाउनेतर्फ अव ध्यान दिनु जरुरी छ । हुलाक सेवा केवल चिठीपत्र र पार्सल ओसारपसार गर्ने माध्यम मात्र नभई नागरिक र राज्यबीचको भरोसायोग्य पुलको रूपमा विकास हुनुपर्ने आवश्यकता छ ।