© 2026
काठमान्डौँ ।
चाडपर्व नजिकिँदै गर्दा आन्तरिक हवाई भाडा बढाएको गुनासो आएपछि वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमति जनाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को सक्रियतामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।
छलफलमा क्यान र वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने तथा त्यसरी कायम गरिएको भाडादरबारे सम्बन्धित वायुसेवाको बिक्री तथा वितरण प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने सहमति भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आन्तरिक हवाई सेवाका लागि न्यूनतमदेखि अधिकतम भाडादर निर्धारण गरिएको थियो । चाडपर्वका बेला हवाई भाडा बढाइएको भन्ने गुनासो सम्बोधन गर्न उक्त निर्णयअनुसारको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा वायुसेवा कम्पनीहरूसँग छलफल गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।