© 2026
नवलपरासी । सुस्ता गाउँपालिका–५ का बाढी प्रभावित नागरिकका लागि विभिन्न संघसंस्था तथा राजनीतिक दलले उपलब्ध गराएको राहत सामग्री १० दिन बितिसक्दा पनि पीडितसम्म पुग्न सकेको छैन । बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री वडा कार्यालयमै थन्किएपछि पीडित परिवार समस्यामा परेका छन् ।
बाढी प्रभावितका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, जरलैया आमा समूह, इन्द्रेणी सामाजिक विकास मञ्चलगायत विभिन्न संघसंस्थाले त्रिपाल, चामल, दाल, तेल, सोयाबिन, मसला, नुन, चिउरा, नमकिन, चाउचाउ, बिस्कुट, पाउरोटी र पानीलगायतका राहत सामग्री उपलब्ध गराएका थिए । ती सामग्री वडा कार्यालयका जनप्रतिनिधिलाई हस्तान्तरण गरिए पनि प्रभावित परिवारलाई वितरण नगरिएको स्थानीयले बताएका छन् ।
“राहतका लागि आएको खाद्यान्न तथा अन्य सामग्री वडा कार्यालयको कोठामै राखिएको छ,” एक स्थानीयले भने, “बाढीका कारण घर तथा दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल खाद्यान्न आवश्यक छ । तर राहत सामग्री वितरणमा ढिलाइ हुँदा पीडितमा असन्तुष्टि बढेको छ ।”
२०८३ असोज ८ देखि १२ गतेसम्म आएको बाढीबाट सुस्ता क्षेत्रमा ठूलो क्षति भएको थियो । बाढी प्रभावित कतिपय परिवार अहिले पनि होल्डिङ सेन्टरमा बसिरहेका छन् । होल्डिङ सेन्टरमा खाद्यान्न अभाव भएको भन्दै स्थानीयले सञ्चारमाध्यममार्फत गुनासो गर्दै आएका छन् । यस्तो अवस्थामा विभिन्न निकायबाट प्राप्त राहत सामग्रीसमेत वितरण नहुँदा पीडितको समस्या थपिएको स्थानीयको भनाइ छ ।
सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले वडा कार्यालयमा राहत सामग्री रहेको स्वीकार गरे । उनी अहिले नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन काठमाडौंमा रहेको बताउँदै राहत वितरणमा भएको ढिलाइबारे विस्तृत जानकारी दिएनन् ।