चन्द्राैटा ।
कपिलवस्तुकाे ९ स्थानमा नागरिक तथा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । चाडपर्वको समयमा यात्रुलाई सुरक्षित, सहज र व्यवस्थित यात्रा गराउने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको हाे ।
जिल्लाका प्रमुख बजार तथा बसपार्कमा ६ वटा र सीमा नाकामा ३ वटा गरी ९ स्थानमा सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ । प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले चाडपर्वको समयमा यात्रु ठगिने, तोकिएभन्दा बढी भाडा असुल्नेलगायतका गतिविधि न्यूनीकरण हुने बताए । उनका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारीसाधनमा हुने विभिन्न अनियमितता नियन्त्रण गर्न सहायता कक्षबाट सेवा प्रदान गरिने छ । यात्राका क्रममा समस्या परेका नागरिकले समेत सहायता कक्षमार्फत तत्काल सहयोग लिन सक्नेछन् ।
पकडी, जितपुर–चार नम्बर, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज र कृष्णनगर बसपार्कमा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको छ जिप्रका कपिलवस्तुले जनाएको छ । त्यस्तै कृष्णनगर, चाकरचौडा र मर्यादपुर सीमा नाकामा सीमा नाका यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । कपिलवस्तुका नगर प्रमुख सुदीप पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायतले ताैलिहवाकाे बसपार्कमा मंगलबार भएकाे कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।