Butwal Today

लुङ्ग्री गाउँपालिकामै भूमि प्रशासन सेवा सुरु, स्थानीयमा खुसीसँगै दिगोपनाको चिन्ता

२१ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

लिवाङ, रोल्पा ।

रोल्पा जिल्लाका स्थानीय तहमा भूमि प्रशासन तथा नापीसम्बन्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने प्रयास अघि बढेको छ । जिल्लाका १० स्थानीय तहमध्ये लुङ्ग्री गाउँपालिकाले भूमि प्रशासन शाखामार्फत नापी तथा जग्गासम्बन्धी सेवा पालिकाबाटै प्रवाह गर्ने उद्देश्यले नापी अधिकृत, सर्वेक्षक र अमिनलाई करार सेवामा नियुक्त गरेको जनाएको छ ।

गाउँपालिकाले भूमि तथा नापीसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी, सहज, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले कर्मचारी व्यवस्थापन गरेको हो । यससँगै सामान्य जग्गा प्रशासन तथा नापीसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने स्थानीयवासीको बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको गाउँपालिकाले जनाएको छ । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले सामान्य जग्गासम्बन्धी कामका लागि पनि लामो दूरी तय गरी सदरमुकाम पुग्नुपर्ने, लामो समय खर्चिनुपर्ने र यातायात तथा अन्य शीर्षकमा अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था रहेको थियो । पालिकामै सेवा उपलब्ध भएपछि नागरिकको समय, श्रम र खर्च बचत हुने अपेक्षा गरिएको छ ।

लुङ्ग्री गाउँपालिकाका निवर्तमान कार्यपालिका सदस्य टेकबहादुर सुनारले पालिकामै भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुनु खुसीको विषय भएको बताए । लामो समयदेखि स्थानीयले भोग्दै आएको सदरमुकाम धाउनुपर्ने समस्या कम हुने र सेवा नागरिकको नजिक पुग्ने भएकाले यो पहल सकारात्मक रहेको उनको भनाइ छ ।

“पालिकामै भूमि प्रशासनको सेवा सुरु हुनु खुसीको कुरा हो । यसअघि जग्गासम्बन्धी सामान्य कामका लागि पनि घण्टौँ लाइन लागेर सदरमुकाम धाउनुपर्ने र पैसा पनि धेरै खर्च हुने समस्या थियो । अहिले सेवा स्थानीय तहमा आउँदा नागरिकको समय र खर्च दुवै बचत हुने देखिन्छ,” उनले बताए ।

तर, सेवा सुरु हुँदैमा त्यसको प्रभावकारिता र दीगोपना सुनिश्चित हुन्छ भन्नेमा भने तत्कालै ढुक्क हुने अवस्था नरहेको सुनारले बताए । पालिकाले गरेको निर्णय व्यवहारमा कत्तिको प्रभावकारी हुन्छ र नियुक्त भएका कर्मचारीले नागरिकलाई अपेक्षाअनुसार सेवा दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ छ ।

लुङ्ग्री गाउँपालिका–४ सालडाँडाका स्थानीय अमृत विष्टले पनि गाउँपालिकामै भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध हुनु नागरिकका लागि सहज भएको बताए । जनतालाई सेवा लिन टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा पारदर्शिता र जवाफदेहिता बढ्ने अपेक्षा रहेको उनले बताए ।

“जनताको सेवाका लागि पालिकामै यस्तो सेवा सुरु हुनु राम्रो कुरा हो। अहिले नागरिकलाई सेवा लिन टाढा जानुपर्ने अवस्था कम हुन्छ । पालिकाको नजिकै सेवा उपलब्ध हुँदा समस्या पर्दा सम्बन्धित संस्थासम्म पुग्न पनि सहज हुन्छ,” उनले बताए ।

स्थानीयका अनुसार रोल्पाका ग्रामीण तथा दुर्गम भेगबाट सदरमुकामसम्म पुग्न भौगोलिक कठिनाइका साथै समय र आर्थिक भारसमेत पर्ने गरेको छ । कतिपय अवस्थामा एउटा सामान्य कामका लागि पटक–पटक सदरमुकाम जानुपर्ने अवस्था आउँदा नागरिकले अतिरिक्त खर्च र झन्झट बेहोर्नुपरेको थियो । स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा त्यस्ता समस्या कम हुने अपेक्षा गरिएको छ ।

लुङ्ग्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले स्थानीय तहबाटै भूमि तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यक जनशक्ति व्यवस्थापन गरिएको जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी गुरुङले पनि नागरिकलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने दिशामा स्थानीय सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

त्यस्तै, गाउँपालिकाले भूमि प्रशासन शाखामा आवश्यक प्राविधिक जनशक्ति परिचालन गरी नागरिकलाई आफ्नो क्षेत्रबाटै सेवा उपलब्ध गराउने प्रयास गरेको जनाएको छ । यसले स्थानीय सरकारप्रति नागरिकको पहुँच र विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?