© 2026
काठमाडौँ ।
भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताएका छन् ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्राध्यापक मोहपात्राले जलवायु परिवर्तन साझा सरोकारको विषय भएकाले संयुक्त संयन्त्रमार्फत काम गर्नुपर्ने सुझाव दिए ।
प्रधानमन्त्री वालेन्द्र शाहले हालै मात्र संयुक्त राष्ट्रसङ्घीय महासभामा जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनले संयुक्त संयन्त्र निर्माण गरी काम गनुपर्ने भनी गरेको प्रस्तावको स्वागत गर्दै उनले यस्तो संयन्त्र त्रिदेशीय रुपमा काम गर्ने खालको र प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, “प्रधानमन्त्री शाहले भनेजस्तै विपत्को पर्खाल या सिमाना नहुने भएकाले जलवायु सङ्कट समाधानमा हिमालयन क्षेत्रका यी तीन देशले उक्त संयन्त्र गठन गरेर प्रभावकारी रुपमा काम गर्दा राम्रो हुनेछ ।”
हालैको भोटेकोशी बाढीले तीन वटै देशका नागरिकलाई क्षति पुर्याएको प्रसङ्ग उल्लेख गर्दै प्राध्यापक मोहपात्राले हिमालय क्षेत्रका नागरिकलाई प्राकृतिक विपत्तिले पनि एकै प्रकारको क्षति पुर्याएको तथा सो बाढीमा परेर नेपाली, भारतीय, चिनियाँसहित धेरै देशका नागरिकको ज्यान गएको बताए । उनले नेपाल–भारत सम्बन्ध कुनै राजनीतिक कोणबाट हेर्न नहुने अद्वितीय खालको रहेको पनि बताए । उनले भारतले छिमेक प्रथम नीति लिएको जानकारी गराउँदै त्यसको पहिलो प्राथमिकतामा नेपाल पर्ने व्याख्या गरे ।