Butwal Today

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-
गुल्मी ।  जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ । परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा ५६८ मिटर लामो जिपलाइन र ११० मिटर लामो स्काई साइक्लिङ निर्माण गरिएको छ । आज बिहानसम्म गरिएको परीक्षणका क्रममा करिब ४० जनाले जिपलाइन र स्काई साइक्लिङको प्रत्यक्ष अनुभव लिएका छन् ।
परीक्षणमा सहभागी लक्ष्मी खनालले जिपलाइनमार्फत यात्रा गर्दा सहज र मनोरम दृश्यसँगै रामाइला अनुभव भएको बताइन्। उनले ५६८ मिटर लामो जिपलाइन पार गर्न करिब ५८ सेकेन्ड लागेको बताइन्।
परीक्षणमा सहभागी प्रकाश भलामीले केही ढिला भए पनि पूर्वाधार सञ्चालनमा आएकाले खुसी व्यक्त गरे । पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर जिपलाइन र स्काई साइक्लिङ सञ्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । उनले साहसिक पर्यटन पूर्वाधार सञ्चालन भएसँगै रेसुङ्गामा पर्यटकको आगमन थप बढ्ने बताए।
रेसुङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत विनोद मरासिनीले आगामी एक साताभित्र नियमित सेवा सञ्चालन गरिने जानकारी िदए ।
हाललाई नगरपालिकाले नै जिपलाइन र स्काई साइक्लिङको व्यवस्थापन तथा संयोजन गर्ने उनले बताए। नगरपालिकाले जिपलाइनका लागि रु ६०० र स्काई साइक्लिङका लागि रु ४०० शुल्क निर्धारण गरेको छ ।
समुद्री सतहबाट दुई हजार ३०० उचाइमा रहेको रेसुङ्गाबाट माछापुच्छ«्रे, धौलागिरिलगायत दर्जनौँ हिमशृङ्खला तथा मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ । रेसुङ्गा पार्कदेखि केही माथि पुगेपछि ऐतिहासिक तथा धार्मिकस्थल रेसुङ्गा यज्ञशाला, महापोखरी, सिद्धस्थान, रामकुवा, विष्णुपादुका र साउनेलगायत काठमाडौँमा सहजै पुग्न सकिन्छ ।
खनाल इन्फ्रा प्रालि, रेसुङ्गा–९ गुल्मीद्वारा रु एक करोड २५ लाखको लागत सम्झौतामा निर्माण सुरु गरिएको उक्त योजना विभिन्न समस्याका कारण लामो समयदेखि अलपत्र परेको थियो । जसका कारण निर्माण कार्य सम्पन्न भएपछि परीक्षण हुन बाँकी रहेका कारण भुक्तानी रोकिएको थियो । पछिल्लो समय गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको अवस्थामा थपिएको यस प्रकारको साहसिक पर्यटन पूर्वाधारले जिल्लाको पर्यटन विकासमा नयाँ फड्को मार्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?