© 2026
काठमान्डौँ ।
वीरगञ्जमा आयोजित जनमत पार्टीको महाधिवेशनबाट डा. सीके राउत पुनः अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा. राउतको मात्रै उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदमा पनि मतदान गरिएको थियो ।
उपाध्यक्षमा सात जना निर्वाचित
उपाध्यक्ष पदमा ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । त्यसमध्ये अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) निर्वाचित भएका छन् ।
उपाध्यक्षका उम्मेदवार परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए ।
महासचिवमा सञ्जयकुमार यादव विजयी
महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव ६१८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । महासचिव पदका अन्य उम्मेदवार ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे । उनीहरूले पार्टी विधानमा तोकिएको २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।
उपमहासचिव पदमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे ।
सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।
सात सचिव पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । वीरेन्द्र महतो ९जीवन त्यागी० र रामबाबु साह भने पराजित भए ।