Butwal Today

स्मार्ट बन्यो कपुरकोट हुलाक, अब डिजिटल लयमा

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

सल्यान । हुलाक भन्ने बित्तिकै धेरैको मनमा पुराना ढड्डा र चिठी बोकेर हिँड्ने हुलाकीको चित्र आउँछ । तर सल्यानको कपुरकोट गाउँपालिका स्थित हुलाक कार्यालयले यो पुरानो पहिचान बदलेको छ ।

प्रविधिको प्रयोग र छिटो छरितो सेवाका साथ कपुरकोट हुलाक अब स्मार्ट बनेको छ । नेपाल सरकारले देशभरका ५० वटा पालिका हुलाकलाई आधुनिक बनाउने योजना ल्याएको थियो । सोही योजना अनुसार कपुरकोट हुलाकको पनि डिजिटल सुधार गरिएको हो ।

सीमित स्रोतसाधन र जनशक्ति भए पनि प्रविधि जोडेर सेवालाई अझ व्यवस्थित र नागरिकमैत्री बनाइएको हुलाक कार्यालय कपुरकोटका प्रमुख युवराज पोखरेलले बताए । स्मार्ट बनेसँगै कार्यालयमा ब्रान्डेड डेस्कटप कम्प्युटर, बारकोड प्रिन्टर, वायरलेस बारकोड स्क्यानर, युपिएस पावर ब्याकअप, ६ टेराबाइट हार्डडिस्क सहितको एनभीआर सिसिटिभि सुरक्षा प्रणाली, ३–इन–१ प्रिन्टर, इ हाजिरी मेसिन, नेटवर्क स्विच र राउटर जडान गरिएको छ ।

अब हरेक चिठी वा पार्सलमा एउटा खास बारकोड टाँसिनेछ । यसबाट सामान कहाँ पुग्यो र कसले पायो भन्ने कुरा कम्प्युटरबाटै सजिलै र पारदर्शी रूपमा हेर्न सकिनेछ । सरकारले हुलाकलाई सरकारी कुरियर सेवाको रूपमा चलाउने नीति लिएको छ । यसै अनुसार कपुरकोट हुलाकले नागरिकलाई घरमै पुगेर सेवा दिन थालेको पोखरेलले जनाए ।

यसबिचमा कार्यालयमा आएका ७८ वटा राहदानी दुई जना कर्मचारीले २४ घण्टाभित्रै सम्बन्धित नागरिकको घरघरमै पु¥याइदिएका छन् । आगामी दिनमा सवारी चालक अनुमतिपत्र पनि हुलाक मार्फत नै घरमै पु¥याउने तयारी गरिएको कार्यालयले जनाएको छ ।

कामलाई अझ छिटो बनाउन कपुरकोट गाउँपालिकाका वडा नं. ३ र ४ मा सेम डे डेलिभरी अर्थात् सोही दिन डाक पु¥याउने व्यवस्था मिलाइएको छ । बाँकी वडाहरूमा भने बढीमा २४ घण्टाभित्र सामान वा चिठी पु¥याइने बताइएको छ ।

साथै हुलाक कार्यालयबाट देशको जुनसुकै ठाउँमा २० किलोसम्मको सामान सस्तो शुल्कमा पठाउन सकिने र विदेशबाट आएका पार्सल पनि हुलाक मार्फत सहजै प्राप्त हुने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?