Butwal Today

लुम्बिनीमा छाला रोग स्क्रिनिङ अभियान

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

लमही । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्ष प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि नयाँ बिरामीको पहिचान, उपचार र रोगसम्बन्धी जनचेतनाका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक रहेकाले अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगको समस्या न्यूनीकरणका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए । नेपाल कानुन समाजले शनिबार आयोजना गरेको ‘कुष्ठ प्रभावित व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै जिल्लामा छाला रोग पहिचान गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले भने, “कुष्ठरोगको समस्या घटाउने गरी प्रदेश सरकारले काम गरिरहेको छ । तथ्याङ्क पनि घट्दो अवस्थामा छ । यो वर्ष सबै जिल्लामा छाला रोगको पहिचान गर्न स्क्रिनिङ अभियान सञ्चालन गर्छौं ।”

उनले कुष्ठरोगसँगै नसर्ने रोगको समस्या पनि प्रदेशमा बढ्दै गएको बताए । क्यान्सरलगायतका रोगको अवस्था बढ्दै गएकाले रोगको समयमै पहिचान र उपचारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले विगतमा कुष्ठरोग लागेका व्यक्तिले सामाजिक लाञ्छना र विभेदको डरले रोग लुकाउने अवस्था रहेको बताए । उनले पछिल्लो समय यस्तो अवस्था क्रमशः कम हुँदै गए पनि कुष्ठरोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि थप काम गर्न आवश्यक रहेको बताए ।

उनले कुष्ठ प्रभावित व्यक्तिलाई उपचारको पहुँचमा ल्याउनुका साथै सामाजिक सुरक्षाको दायरामा समेट्नुपर्नेमा जोड दिए ।
कुष्ठरोग स्वास्थ्य समस्यामा मात्र सीमित नभएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले प्रभावित व्यक्तिको सामाजिक तथा आर्थिक अवस्थासँग पनि यसलाई जोडेर हेर्नुपर्ने बताए । रोगका कारण हुने सामाजिक विभेद अन्त्य गर्न सरकारी कार्यक्रमसँगै समुदायस्तरमा जनचेतना विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले कुष्ठरोग मानवता र मानवअधिकारसँग जोडिएको विषय भएको बताए । उनले नयाँ प्रभावितको खोजीलाई व्यापक बनाउँदै उपचारको पहुँचमा ल्याउन तथा प्रभावित व्यक्तिमा आत्मविश्वास जगाउन आवश्यक रहेको बताए । वरिष्ठ छाला रोग विशेषज्ञ डा. रविन्द्र बास्कोटाका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालमा दुई हजार ४०९ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । उनले उपचारमा रहेका कुष्ठरोगीको सङ्ख्या दुई हजार ६०८ रहेको जानकारी दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठका अनुसार प्रदेशमा हाल ५४७ जना कुष्ठरोगका बिरामी उपचारमा छन् । उनले कुष्ठरोगका कारण हुने लाञ्छना र भेदभाव घटाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन् ।

कार्यक्रममा सभामुख तुलाराम घर्तीमगर, स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिर, पूर्वअर्थसचिव शिशिरकुमार ढुङ्गाना, प्रमुख सचिव विनोदबहादुर कुँवर, उपसभामुख मेनुका खाँड केसीलगायतले कुष्ठ प्रभावित व्यक्तिको अधिकार, उपचार, सामाजिक सुरक्षा र आर्थिक सशक्तीकरणका विषयमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?