© 2026
गुल्मी । बेलायतको लन्डन स्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको राहतका लागि ५० लाख रूपैयाँ सहयोग गरेको छ ।
समितिका उपाध्यक्ष तारा भट्टराईको नेतृत्वमा सङ्कलित उक्त रकम बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरिएको हो । सङ्कलित उक्त रकम राजदुतावास मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पाण्डेले जानकारी दिएका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा कार्यवाहक राजदूत दुवाडीले विपद्का बेला प्रवासमा रहेका नेपाली समुदायले मातृभूमि प्रति देखाएको सहयोग र सद्भाव महत्वपूर्ण रहेको बताए ।
उनले बाढीपहिरो जस्ता विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्राप्त सहयोगले ठूलो अर्थ राख्ने बताएका थिए ।
मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तारा भट्टराईले नेपालमा विपद्का कारण नागरिक समस्यामा परेको बेला मन्दिरको तर्पmबाट थोरै भएपनि सहयोग गर्ने उद्देश्यले उक्त रकम सङ्कलन गरिएको बताईन् । उक्त रकम जनैपूर्णिमा, कृष्णजन्माष्टमी र हरितालिका पर्व (तीज) का अवसरमा मन्दिरमा आएका नेपाली तथा विदेशी भक्तजनबाट प्राप्त दानबाट सङ्कलन गरिएको उपाध्यक्ष भट्टराइले जानकारी दिएकी छन् ।
२३ वर्षअघि स्थापना गरिएको लन्डन स्थित पशुपतिनाथ मन्दिरले नेपालमा बाढीपीडितका लागि पहिलो पटक यस प्रकारको आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिले बेलायतमा रहेका नेपाली समुदाय र भक्तजनको सहयोगमा धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।