© 2026
दोहा (कतार) ।
‘कास्की आदर्श समाज कतारको’ दशौँ राष्ट्रिय अधिवेशन भएको छ ।
शुक्रवार वेलफेयर रेस्टुरेन्टको सभा हलमा अमृत विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो । खुला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनले विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रथम उपाध्यक्षमा कृष्ण भण्डारी, उपाध्यक्षमा रामदास भुर्तेल, केदार भण्डारी, ऋषिराम विश्वकर्मा, सचिवमा विष्णु तिमिल्सिना, सह सचिव द्वय प्रेम रसाइली र
नारायण प्रसाद आचार्य, कोषाध्यक्षमा ऋषिराम भण्डारी, सह कोषाध्यक्षमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा ईश्वर पौडेल, हेमबहादुर थापा मगर, किरण ढकाल, सरिता गुरुङ, पदम गुरुङ, विनोद बाबु अधिकारी र प्रेम बहादुर सुनार रहेका छन् । त्यस्तै सदस्यमा दुई पद रिक्त रहेको छ । नयाँ कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने जनाएको छ । सम्पूर्ण नवगठित कार्यसमितिलाई निर्वाचन समिति संयोजक राम प्रसाद गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

विधिगत रूपमा समुद्घाटन गरिएको दशौँ राष्ट्रिय अधिवेशनमा समाजका अध्यक्ष अग्निधर देवकोटा तथा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक संरक्षक धुर्व राज अधिकारीको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले दशौँ राष्ट्रिय अधिवेशनमा संस्थाको दुई बर्षे कार्यकालको प्रगति प्रतिवेदन तथा संस्थागत गतिविधि प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए । कलाकार वर्षा तामाङ र सन्जु बलले नृत्य प्रस्तुत गरेका थिए ।

अधिवेशनको अवसरमा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो भनाइ राखेका थिए । वक्ताहरूले कास्की आदर्श समाज कतारले कतारसँगै गृह जिल्ला कास्कीमा समेत सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिँदै आएको भन्दै प्रशंसा गरे ।
अधिवेशनको अवसरमा समाजले आठ जनालाई आजीवन सदस्यता प्रदान गरेको थियो । संस्था सञ्चालन गर्दा विभिन्न कोणबाट सहयोग पुर्याउँदै आएका विभिन्न सामाजिक व्यक्तित्वहरू,तथा सामाजिक संस्था, पत्रकार, समाजका सल्लाहकार, संरक्षकहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो ।
कतारमा रहेका विभिन्न कलाकारहरूको समेत सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा बोल्दै धुर्व राज अधिकारीले आफ्नो मन्तव्य व्यक्त गर्दै आफूभन्दा पनि ‘हामी’ भन्ने भावनाबाट संस्थाहरू निर्माण हुँदै गएको भन्दै कास्कीले गरेको सम्मानप्रति धन्यवाद दिए । प्रवासमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले कठिन परिस्थितिमा संस्था निर्माण गरेको स्मरण गर्दै अबको पुस्ताले ती संस्थाको संरक्षण र निरन्तरताका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए ।
दशौँ अधिवेशनको खुला सत्र समापन गर्दै अग्निधर देवकोटाले दुई कार्यकालको जिम्मेवारी पूरा गर्ने क्रममा संस्थाले गरेका राम्रा कामलाई निरन्तरता दिन, भएका कमजोरीबाट सिक्दै सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरे । अध्यक्ष परिवर्तन भए पनि संस्था र कार्यसमिति परिवर्तन भए पनि आपसी सम्बन्धमा परिवर्तन आउन नहुने उनको भनाइ थियो । पदबाट बिदा भए पनि आफू संस्थाबाट अलग नभएको बताउँदै उनले अब अध्यक्षको रूपमा नभई संस्थाको सदस्यका रूपमा आवश्यक पर्दा आफ्नो अनुभव, समय र क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कास्की आदर्श समाज कुनै व्यक्तिको नामले नभई यसको उद्देश्य, एकता र सामूहिक भावनाले चिनिनुपर्नेमा जोड दिँदै उनले संस्थाको गरिमा र पहिचानलाई अझ उचाइमा पुर्याउन सबै एकजुट हुनुपर्ने बताए । साथै उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै कास्की आदर्श समाज कतारलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्न आग्रह गरे । राष्ट्रिय अधिवेशनको सहजीकरण अमृत विश्वकर्मा र केदार भण्डारीले मिलेर गरेका थिए ।
को हुन् अध्यक्ष अमृत विश्वकर्मा ?
कास्कीको अन्नपूर्ण गाउँपालिका–५, लुम्ले निवासी अमृत विश्वकर्मा सन् २०१६ देखि कास्की आदर्श समाज कतारमा आबद्ध छन् । भलिबल टोलीको प्रशिक्षकबाट संस्थामा प्रवेश गरेका विश्वकर्माले सह–सचिव, सचिव हुँदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेपछि झन्डै एक दशकमा संस्थाको नेतृत्वमा पुगेका हुन् । विश्वकर्मा गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारका सचिवालय सदस्य तथा दलित एकता सञ्जाल कतारका महासचिवसमेत हुन् ।
