Butwal Today

मायादेवीका शिक्षकलाई पाँच दिने एबिएल तालिम        

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका २५ विद्यालयका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाई (एबिएल) सम्बन्धी पाँच दिन तालिम दिइएको छ । युनाईटेड मिसन टु नेपाल (युएमएन) को सहयोगमा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुले सञ्चालन गरेको परिवर्तनका लागी बालबालिका, युवा र समुदाय परियोजना (सिवाईसिसी) को आयोजनामा २७ शिक्षकलाई तालिम दिइएको हो ।

गणित, सामाजिक र नेपाली सहितका विषय केन्द्रित तालिममा एबिएलको महत्त्व, विद्यार्थी केन्द्रित शिक्षण, सिक्दै र गर्दैको अवधारणा, अनुभवमा आधारित सिकाई, निर्माणवादी सिकाई, समूह कार्य, कम र शून्य लागतका शिक्षण सामाग्रीको प्रयोगात्मक अभ्यास गराइएको थियो ।

आफूहरूले तालिम मार्फत विभिन्न विषयको प्रभावकारी अध्यायपनको विधि सँगै शिक्षण सामाग्री निर्माणको सिप सिकेकाले विद्यालयमा सो सिपको व्यवहारिक प्रयोग गर्ने तालिममा सहभागी शिक्षिका सरस्वती अधिकारीले बत्ताइन ।

त्यसै गरि अर्का शिक्षक श्याम दयाल यादवले आफूहरूका लागी तालिम महत्त्वपूर्ण रहेको र विद्यार्थीको सिकाई उपलब्धि बढाउन सहयोग पुग्ने बताए । पाँच दिने तालिमले शिक्षकको क्षमता विकासमा सहयोग पुर्‍याएको उनको भनाई थियो ।

तालिमले विद्यार्थीको सक्रियता वृद्धि, व्यवहारिक सिकाइलाई प्रवर्द्धन, दिगो सिकाइको विकास, सहकार्य र सृजनशीलता वृद्धि, विद्यार्थी केन्द्रित शिक्षण, समस्या समाधानको सिप विकास र शैक्षणिक गतिविधिलाई रमाइलो र प्रभावकारी बनाउने देखिएको प्रशिक्षक तिलकराम खरबिन्दले बताए ।

तालिमलाई बिद्यालयस्तरमा व्यवहारिक प्रयोगले मात्र तालिमको सार्थकता पुरा हुने परियोजनाका शिक्षा अधिकृत भोरिक केवटले बताए । तालिम लिएका शिक्षकहरूको बिद्यालयस्तरको क्रियाकलापलाई स्वतन्त्र अनुगमन गरि उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने परियोजनाको योजना गरेको उनले स्पष्ट पारे ।

सिकाइको बिद्यालयस्तरमा व्यवहारिक प्रयोग सगैं तालिम प्रति शिक्षकको अपनत्व आवश्यक रहेकोमा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुकी अध्यक्ष सुर्जमती पासीले जोड दिइन । तालिममा शिक्षकहरू सरस्वती उपाध्याय र तिलकराम खरबिन्दले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?