© २०२३
काठमाडौँ ।
नेकपा एमालेले दुई महिने अभियान चलाउने भएको छ । फागुन र चैत महिनामा एमालेले ‘मिसन ग्रासरुट’ अभियान चलाउने भएको हो । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै बैठकले नेताहरुको जिम्मेवारी समेत हेरफेर गरेको छ ।
एमालेले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतमलाई चयन गरेको छ । यसअघिका प्रदेश इन्चार्ज देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएपछि घिमिरेकोे ठाउँमा गौतमलाई जम्मेवारी दिइएको हो । त्यस्तै घनश्याम भुसालले पार्टी छोडेपछि रिक्त अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन गरेको छ । निधन भएका नेता बालकृष्ण ढुंगेलको स्थान अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र रामचन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएकाले सो स्थानमा शीला यादवलाई जिम्मेवारी दिएको छ ।
एमालेले कार्यकर्ता परिचालन गर्न ‘मिसन ग्रासरुट’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । उक्त अभियान फागुन र चैत २ महिनाभर चल्ने छ । त्यसका लागि एमालेले विभिन्न ११ वटा कार्यदेश तोकेर केन्द्रीय सदस्यहरुलाई गाउँ तहसम्म पठाउँनेछ । यसक्रममा सदस्यता नवीकरण, वितरण, पूराना नेता कार्यकर्ताको सम्मान,जनप्रतिनिधि र पार्टी कमिटीबीच अन्तरसम्बन्ध लगायतका काम गर्नेछ ।