© 2026
बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित तथा इएचएस (अतिरिक्त सेवा अवधि) अन्तरगत सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गरिएको हो ।
सेवाग्राहीको चाप बढ्दै गएको अवस्थामा शल्यक्रिायका लागि आउने बिरामीको सङ्ख्या अत्याधिक रहेको र महिनौंसम्म पालो कुर्नु पर्ने अवस्था रहेको बताइएको छ । अस्पतालमा सर्जिकल विभागको शुक्रबार आयोजित क्लिनिक अडिटमा तथ्याङ्क प्रस्तुत गर्दै सर्जिकल विभाग प्रमुख रचना कार्कीले चुनौति र सुधारका योजनाहरु प्रस्तुत गरिन् । कार्कीका अनुसार भाद्र महिनामा नियमित तर्फ ४९७ र ईएचएस तर्फ २४४ जनाको शल्यक्रिया गरिएको हो ।
सेवा परीक्षण कार्यक्रममा बोल्दै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवाग्राहीको चाप, उपलब्ध जनशक्ति तथा स्रोत साधनको अवस्थालाई मध्यनजर गरि सबैले अधिकतम प्रयास लगनशिलतामा जोड दिए । यसैगरी सेवाग्राहीलाई सरल र सौहार्द परामर्शमा जोड दिए । छलफलमा अस्पतालका विभाीय प्रमुखहरुले सेवाको अवस्था, चुनौति र समाधानका उपायहरु बारे सुझाब प्रस्तुत गरेका थिए ।
नर्सिङ विभाग प्रमुख नेहा थापाको सञ्चालनमा भएको कार्यक्रममा मेडिकल सुपेरीटेन्डेन डा. विष्णु गौतमले सेवालाई प्रभावकारी बनाउनका लागि सामुहिक पहलमा जोड दिए । सबै सेवाको समय–समय समयमा परीक्षण तथा मूल्याङ्न गर्न आवश्यक रहेको बताउँदै उनले जिम्मुवारपूर्ण भएर लाग्न निर्देशन दिए ।