© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्टग्राजुएट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको र उनीहरूलाई होस्टेल खाली गर्न लगाउनुका साथै आन्दोलन गर्न तथा कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको दाबी गरे ।
उनका अनुसार विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको अनियमितताबारे आवाज उठाएपछि कलेज प्रशासनले उनीहरूलाई आन्दोलनबाट रोक्ने प्रयास गरेको हो ।
अन्सारीले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् काममा नरहेका प्राध्यापक देखाएर पीजी सिट लिइएको आरोप लगाए । चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा समेत कलेज व्यवस्थापनले सुरक्षागार्डलाई नक्कली बिरामी बनाएर इमर्जेन्सी कक्षमा राखेको दाबी उनले गरे ।
‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर ९कामै नगर्ने प्रोफेसर० देखाएर पीजी सिट लिइएको छ,’ अन्सारीले भने, ‘चिकित्सा शिक्षा आयोग निरीक्षणमा जाँदा इमर्जेन्सी हलमा त्यहीँका सुरक्षागार्डलाई बिरामी बनाएर पानी चढाउनसमेत कलेज व्यवस्थापनले दबाब दिएको छ ।’
यस्ता गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले चिकित्सा शिक्षामा हुने अनियमितताका कारण विद्यार्थीको भविष्य अन्योलमा पार्न नहुने बताए ।
‘यसरी नक्कली बिरामी, नक्कली शिक्षक र नक्कली निरीक्षणका नाममा राज्यमा गोरखधन्दा चलाइएका कलेजलाई राज्यले आफ्ना गहनाजस्ता विद्यार्थीको भविष्य अन्योलमा पार्न मिल्दैन,’ उनले भने ।
अन्सारीले नेशनल मेडिकल कलेजमा विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गरे । सम्बन्धित मेडिकल कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका विभिन्न निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत उनले लगाए ।
उनले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालयको डिन कार्यालय तथा स्थानीय प्रशासनका अधिकारीमाथि समेत प्रभाव पार्ने काम हुँदै आएको दाबी गरे ।
अन्सारीले आफूले उठाएको विषय कुनै एउटा संस्थाविरुद्धको आरोप मात्र नभई चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्नुपर्ने विषय भएको स्पष्ट पारे ।
बेथितिविरुद्ध आवाज उठाउँदै विद्यार्थीहरू १० दिनदेखि आन्दोलनमा रहे पनि कलेज प्रशासनले उनीहरूलाई होस्टेल खाली गर्न लगाउनुका साथै कलेज प्रवेशमा रोक लगाएको उनले बताए ।
आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा विद्यार्थी काठमाडौंमा रहेको जानकारी दिँदै अन्सारीले उनीहरूका माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।