© 2026
काठमान्डौँ ।
श्रम, संस्कृति पार्टीले सरकारको कार्यशैलीप्रति संसद्मा असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद ध्रुव राईले प्रतिपक्षी दलका माग तथा जनताका समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।
सांसद राईले प्रतिपक्षी दलहरूले जनसरोकारका विभिन्न विषय र प्रश्न संसद्मा उठाए पनि सरकारले त्यसलाई बेवास्ता गरेको गुनासो गरे । उनले जनताका धेरै प्रश्न उठाए पनि सरकारले त्यसको जवाफ नदिएको बताए ।
‘हामीले जनताका धेरै प्रश्नहरू उठाएका थियौँ, तर ती प्रश्नहरूको जवाफ पाउन सकिएन । यो अधिवेशन पनि कर्मकाण्डी जस्तै भयो,’ उनले भने ।
सरकार प्रमुखले प्रतिपक्षी दलको आवाजलाई सम्बोधन गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए । विगतमा जनताले विश्वास गरेर निर्वाचित गरेका राजनीतिक दलहरू अहिले जनताको चाहनाविपरीत अघि बढिरहेको उनको टिप्पणी थियो ।
‘सरकार प्रमुखले जिम्मेवार ढङ्गले प्रस्तुत हुनुको साटो प्रतिपक्षी दलहरूको मत र आवाजलाई सम्मान गर्न सकेनन् । कसैको दुई मत छैन, सबै सांसदज्यूहरू यहाँ एक से एक हुनुहुन्छ । तर, सरकारले विपक्षीको आवाज सुन्नसमेत चाहेन,’ उनले भने ।
सांसद राईले संसद्मा प्रभावकारी रूपमा आवाज उठाउन नसकिए पनि आफू जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या उठाउने बताए ।
‘हामी प्रतिपक्षमा रहेर जनताको आवाज उठाउँछौँ । सरकारले नसुने पनि म आजैदेखि जनताको घरआँगनमा पुग्नेछु । जनताको समस्या समाधानका लागि हामी निरन्तर सङ्घर्ष गर्नेछौँ,’ उनले भने ।
उनले विगतका आन्दोलनका उपलब्धिलाई ओझेलमा पार्ने काम गर्न नहुने चेतावनीसमेत दिए । सरकारले दम्भ देखाउँदै प्रतिपक्षलाई पेलेर अघि बढ्न खोजे त्यसको मूल्य सरकारले नै चुकाउनुपर्ने उनको भनाइ थियो ।
‘हिजोको आन्दोलनका उपलब्धिहरूलाई ओझेलमा पार्ने काम नहोस् । यदि सरकारले दम्भ देखाउने र प्रतिपक्षलाई पेलेरै लैजाने प्रयत्न गरे, त्यसको मूल्य सरकारले नै चुकाउनुपर्नेछ,’ उनले भने ।
सांसद राईले चालु अधिवेशनमा आफूहरूले उठाएका मागलाई सरकारले अझै गम्भीरतापूर्वक नलिएको भन्दै असन्तुष्टि जनाए । उनले संसद्मा उपस्थित अन्य सांसदहरूलाई समेत जनपक्षीय मुद्दामा एकजुट हुन आह्वान गरे ।