© 2026
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ। कार्यतालिकामा कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन्। देउवा समूहले बुझाएको कार्यतालिका आयोगले १३ गते दर्ता गरेको छ। सोही दिन कार्यतालिकालाई अभिलेखमा राख्न फाइल खडा गरी तोकादेशसमेत भएको आयोग स्रोतले जनाएको छ।
देउवा समूहले २०८३ मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका आयोगमा बुझाएको हो। देउवाले प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै महाधिवेशनसम्बन्धी जानकारी तथा अभिलेखीकरणका लागि कार्यतालिकासहितको पत्र पठाएका हुन्। पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षे कार्यकाल विधानबमोजिम थप गरिएको अवधिसहित २०८३ मंसिर मसान्तमा समाप्त हुने उल्लेख गरिएको छ। सोहीअनुसार वडा तहदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका तय गरिएको देउवा समूहले जनाएको छ।
यस्तो छ महाधिवेशन कार्यतालिका
* वडा अधिवेशन: २०८३ असोज १५ गते
* पालिका अधिवेशन: २०८३ असोज २० गते
* प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन: २०८३ असोज २३ गते
* जिल्ला अधिवेशन: २०८३ कात्तिक १५ गते
* प्रदेश अधिवेशन: २०८३ मंसिर ४ गते
* केन्द्रीय महाधिवेशन: २०८३ मंसिर २१, २२ र २३ गते, काठमाडौं
पत्रमा निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेको र उक्त विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको समेत उल्लेख गरिएको छ। देउवा समूहले महाधिवेशन सम्पन्न भएपछि निर्वाचित केन्द्रीय तथा प्रदेश कार्यसमितिको नामावली कानुनबमोजिम अद्यावधिकका लागि निर्वाचन आयोगमा पुनः पठाइने जनाएको छ।
यससँगै नेपाली कांग्रेसभित्रको महाधिवेशनसम्बन्धी विवाद थप प्रक्रियागत चरणमा प्रवेश गरेको छ। महाधिवेशनको वैधानिकता तथा पार्टीको आधिकारिक संरचनासम्बन्धी विषय भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निर्णय र सम्बन्धित कानुनी प्रक्रियासँग जोडिएको छ।