Butwal Today

ज्येष्ठ नागरिकका सुविधा कार्यान्वयनमा जोड

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

चन्द्रौटा ।

ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय महासचिव थानेश्वर खनालले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा, सार्वजनिक यातायातमा छुटलगायतका सुविधा उपलब्ध गराउने विषयमा पहल भइरहेको बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा बिहीबार आयोजित ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै खनालले ज्येष्ठ नागरिकका अधिकार र सुविधालाई व्यवहारमै कार्यान्वयन गराउन केन्द्र सरकारसँग समेत पहल भइरहेको बताए ।

ज्येष्ठ नागरिकले उपचारका लागि आर्थिक अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न राज्यले स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिनुपर्ने उनले बताए । ज्येष्ठ नागरिकका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा सहज सेवा, औषधि र स्वास्थ्य परीक्षणको व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले ज्येष्ठ नागरिक परिवारका अभिभावक भएकाले उनीहरूको अनुभव, सुझाव र कुरालाई सम्मानपूर्वक ग्रहण गर्नुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र योगदानलाई समाजले सम्मान गर्नुपर्ने वक्ताहरूको भनाइ थियो ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, समाजसेवी हुमाकान्त खनाल, रविदत्त मिश्र, वडा अध्यक्ष खिमविक्रम केसी, इलियास मुसलमान, महादेव पोखरेल, राष्ट्रिय ज्येष्ठ नागरिक समाज शिवराज नगर अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्ष, सचिव नारायण ज्ञावलीलगायतले सम्बोधन गरेका थिए । जेष्ठ नागरिकको सम्मान कार्यक्रममा नेपाल आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बिरेन्द्र सिंह केसिले ५ हजार एक सय सहयोग गरेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?