© 2026
चन्द्रौटा ।
शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले समाजमा महिलाको पहुँच र अधिकार सुनिश्चित गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । अन्तरपुस्ता महिलावादी मञ्चको आयोजनामा कपिलवस्तुको चन्द्रौटा चोकमा ‘अनुपम अभियान’ अन्तर्गत एक कोणसभालाई सम्बोधन गर्दै बताएकी हुन् ।
महिलामाथि हुने विभेद र हिंसा अन्त्यका लागि निरन्तर खबरदारी आवश्यक रहेको उनले बताइन् । महिलाको आवाजलाई घरपरिवारदेखि राज्यका हरेक तहसम्म सम्मानपूर्वक सुनिनुपर्ने उनले जिकिर गरिन् ।
“महिलाका समस्या महिलाको मात्रै समस्या होइनन्, यो समग्र समाजको सवाल हो । त्यसैले महिला हिंसा र विभेदविरुद्ध सबैको साझा आवाज आवश्यक छ” उनले भनिन् । थारुले महिलालाई अवसर र निर्णय प्रक्रियामा समान सहभागिता दिन सके मात्रै सामाजिक परिवर्तन सम्भव हुने बताइन् । “महिलालाई अगाडि बढ्न अवसर दिने र नेतृत्व गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो” उनले भनिन् ।
यस्तै महिला अधिकारकर्मी मीना परियारले पुरुषसरह महिलाले पनि हरेक क्षेत्रमा काम गर्न सक्ने भन्दै महिलालाई अवसर र समान अधिकार दिनुपर्ने धारणा राखिन् । कविता आचार्य, टिका विक, शुभावती कुर्मी र तौलेश्वर चौधरीलगायतले महिला हिंसा अन्त्य, समानता र सामाजिक न्यायका लागि यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । समाज विकासमा महिलाले पनि महत्वपूर्ण र सकारात्मक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महिलाको सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।