© 2026
दाङ ।
दाङको घोराही–तुलसीपुर सडक खण्डमा पर्ने तुलसीपुर उपमहानगरपालिका -१८ स्थित ग्वारखोला पुलबाट सवारीसाधन सञ्चालनमा आएका छन् । गत असोज १० गतेको वर्षाका कारण पुलको पूर्वतर्फ भत्किएपछि सवारी आवागमनमा समस्या भएको थियो ।
तुलसीपुर -१७ बेलझुन्डीका विजय पोखरेल दैनिक तुलसीपुर आउजाउ गर्ने गर्दछन् । पुलमा समस्या आए पछि साइपुरबाट घुमेर जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ। ५ दिन भयो पुलबाट हिड्न नपाएको आज देखि पुल मर्मतको काम हुन थालेको थाहा पाएको छु खुसी लागेको उनले बताए । लामो बाटोमा यात्रा गर्दा समय धेरै लाग्ने र समयमा नपुगिने समस्या थियो अब सहज हुन्छ भन्ने आशा लगेको छ, उनले भने ।
भत्किएको भागमा मर्मतपछि आज बिहानदेखि पुलमा साना सवारीसाधन सञ्चालनमा आएको तुलसीपुर उपमहानगरपालिका कार्यबहाक प्रमुख माधव वलीले बताए ।
भत्किएको ठाउँमा निर्माण कम्पनी सगुन कन्ट्रक्सन ले तोकिएको अवधिमै काम गरेपछि अवरुद्ध सडकमा सवारीसाधन सञ्चालनमा आएको उनले बताए
उनका अनुसार पुलमा मोटरसाइकल, अटो, जिप, कार लगायतका साना सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ । तर ठुला सवारी साधनका लागि वैकल्पिक सडकको व्यवस्था गरिएको छ ।
ठुला सवारीसाधन पुलको उत्तरतर्फ र दक्षिणतर्फ दुवैतिरबाट सञ्चालन हुने व्यवस्था गरिएको छ । पुलको उत्तरतर्फको भागबाट तुलसीपुरबाट घोराहीतर्फ जाने ठुला साधन सञ्चालन हुनेछन् भने दक्षिणतर्फबाट घोराहीबाट तुलसीपुरतर्फ आउने ठुला सवारी साधन सञ्चालन हुनेछन् ।
पुलको पूर्वतर्फ भत्किएका कारण घोराही जाने र तुलसीपुरतर्फ आउने सवारीसाधनले राप्ती बबई क्याम्पसको वैकल्पिक सडक प्रयोग गरिरहेका थिए । घुमाउरो सडकका कारण यात्रु र यातायात व्यवसायी दुवैलाई समस्या भएको थियो । पुल मर्मत पछि यात्रु र गाडी चालकलाई सहज हुने आसा गरिएको छ ।