© 2026
अर्घाखाँची ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन् ।
जिल्ला समन्वय समिति अर्घाखाँचीले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताएका हुन । उनले सरकारका कामको मूल्याङ्कन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको बताए । ‘विकासको पहलकदमी लिएका छौँ । अहिले जनताले परिणाम खोजेका छन् । कुराले मात्रै चिउरा भिज्दैन । आलोचना गरेर मात्रै विकास हुँदैन,’उनले भने ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको विकासमा प्रदेश सरकारसँगै सङ्घीय सरकार र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । सङ्घीय सरकारअन्तर्गतका कतिपय आयोजना बजेट अभाव र अन्य कारणले अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यस्ता आयोजनालाई अघि बढाउन सङ्घीय सरकारसँग निरन्तर समन्वय र पहल भइरहेको जानकारी दिए ।
उनले सङ्घीय सरकारका सशर्त कार्यक्रम तथा आयोजनामा बजेट रोकिँदा प्रदेशका जिल्लामा विकास निर्माण प्रभावित भएको बताए । अर्घाखाँचीमा मात्रै सङ्घीय सरकारका २७ वटा सशर्त आयोजना रहेको उल्लेख गर्दै उनले विनियोजन भएका आयोजना तथा बजेट कार्यान्वयनको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विकास आयोजनालाई राजनीतिक आग्रह-पूर्वाग्रहका आधारमा नभई आवश्यकता र परिणामका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताए । विकास निर्माणका विषयमा हुने गलत प्रचारको अन्त्य गर्नुपर्ने भन्दै उनले राम्रो काम गर्ने कार्यालय तथा कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे । ‘सोलोडोलोमा मूल्याङ्कन गरिनु हुँदैन । राम्रा काम भएका छन् । काम गर्नेहरूको मूल्याङ्कन हुन जरुरी छ’उनले भने,‘राम्रा काम गर्ने कार्यालय र कार्यालयभित्रका कर्मचारीलाई हामीले दिलैदेखि धन्यवाद दिनुपर्छ ।’
वनसम्बन्धी कानुन संशोधन नहुँदा प्रदेश र स्थानीय तहको विकास तथा राजस्व सङ्कलनमा समेत असर परेको मुख्यमन्त्री आचार्यले बताए । वन तथा नदीजन्य पदार्थबाट अपेक्षाअनुसार राजस्व सङ्कलन हुन नसकेको उल्लेख गर्दै उनले सङ्घीय सरकारसँग कानुनी तथा नीतिगत सुधारका लागि निरन्तर पहल भइरहेको बताए ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, सिँचाइ तथा सडकको क्षेत्रमा पछिल्लो समय उल्लेख्य काम भएको बताए ।
अर्घाखाँचीको उदाहरण दिँदै उनले जिल्लामा पक्की तथा झोलुङ्गे पुल निर्माण, सिँचाइ पूर्वाधार विस्तार, विद्युतीकरण, विद्यालयको भौतिक सुधार र आधारभूत अस्पतालमा चिकित्सक पठाउने काम भएको बताए ।
उनले विकासको वर्तमान अवस्थालाई विगतसँग तुलना गरेर मूल्याङ्कन गर्नुपर्ने बताए । २०७४ सालअघिको अवस्था र त्यसपछिको अवधिमा भएका विकासलाई हेर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा पूर्वाधार तथा सेवा विस्तार भएको बताए । ‘३५ वर्षमा केही भएन भनेर गलत भाष्य खडा गर्न खोजिएको छ । यो गलत हो । यो बिचमा अर्घाखाँचीले मुहार फेरेको छ,’उनले भने ।
लुम्बिनी प्रदेशको विकासका लागि प्रदेश सरकारले सङ्घीय सरकार र स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै लैजाने उनले बताए ।
