© 2026
सिद्धार्थनगर ।
अत्यधिक गर्मी तथा तातो हावाको लहर (लू) का कारण जनस्वास्थ्य, श्रम उत्पादकत्व, खाद्य सुरक्षा तथा आर्थिक गतिविधिमा गम्भीर असर पर्न सक्ने भन्दै सरोकारवालाले पूर्वतयारी, पूर्वसूचना र जनचेतनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय तथा अमेरिकन रेडक्रसको विशेष सहयोगमा आयोजित दुईदिने ‘अत्यधिक गर्मी तथा तातो हावाको लहर (लू) सम्बन्धी सरोकारवाला कार्यशाला’मा यस्तो जोड दिइएको हो ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका जिल्ला शाखा सभापति रामचन्द्र उपाध्यायले विपद् जोखिम न्यूनीकरणमा पूर्वानुमान र पूर्वसूचनाको महत्त्व महत्वपूर्ण रहेको बताउए । उनले नेपाल रेडक्रस सोसाइटीले सरकारको सहयोगी संस्थाका रूपमा जनचेतना अभिवृद्धि, विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । रुपन्देही क्षेत्रमा बाढी, आगलागी र विषालु सर्पदंशजस्ता जोखिम रहेको उल्लेख गर्दै रेडक्रसले यस्ता जोखिमबाट हुने क्षति कम गर्न निरन्तर सेवा तथा कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रम संयोजक पल्लवी सिंहले अत्यधिक गर्मी र लूलाई तत्काल देखिनेभन्दा पनि विस्तारै गम्भीर असर पार्ने ‘साइलेन्ट किलर’ जस्तो जोखिमका रूपमा लिनुपर्ने बताइन । उनका अनुसार अत्यधिक गर्मीका कारण हरेक वर्ष ठूलो संख्यामा मानिसको मृत्यु हुने गरेको छ भने यसको प्रत्यक्ष असर श्रम तथा आर्थिक उत्पादनमा समेत पर्ने गरेको छ ।
उनले अत्यधिक गर्मीले श्रमिकको काम गर्ने क्षमता घटाउनुका साथै न्यून आय भएका तथा कमजोर आर्थिक अवस्थाका मानिसलाई तुलनात्मक रूपमा बढी प्रभावित पार्ने बताइन । गर्मीका कारण कृषि उत्पादन, खाद्य प्रणाली तथा खाद्य सुरक्षामा समेत असर पर्न सक्ने भएकाले यसलाई केवल स्वास्थ्यसम्बन्धी समस्या मात्र नभई सामाजिक तथा आर्थिक जोखिमका रूपमा समेत बुझ्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँले स्थानीय तहबाट अत्यधिक गर्मी तथा लूको जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी, जनचेतना तथा स्थानीयस्तरको समन्वयका विषयमा धारणा राखेका थिए ।
कार्यशालामा अत्यधिक गर्मी तथा लू का कारण हुने स्वास्थ्य जोखिम, पूर्वसूचना प्रणाली, जोखिममा रहेका समुदायको पहिचान, पूर्वतयारी तथा विपद् प्रतिकार्यका विषयमा सरोकारवालाबीच छलफल गरिएको थियो ।

जलवायु परिवर्तन तथा बदलिँदो मौसमी अवस्थाका कारण अत्यधिक गर्मीका घटना बढ्दै जाँदा स्थानीयस्तरमै जोखिम पहिचान गरी समयमै सूचना प्रवाह, सुरक्षित व्यवहार तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
सन् १८५९ को युद्धपछि सन् १८६३ मा स्थापना भएको रेडक्रसले १६० वर्षभन्दा बढी समयदेखि विश्वभर मानवीय सेवा प्रदान गर्दै आएको छ । विपद् भएपछि सहायता पु¥याउनुका साथै विपद् आउनुअघि नै सम्भावित जोखिमबारे सचेत गराई क्षति न्यूनीकरण गर्नु रेडक्रसको प्रमुख उद्देश्य रहेको थियो ।