Butwal Today

अर्थमन्त्री वाग्लेलाई पन्थीले बुझाए श्रमिकका माग 

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

दोहा (कतार) ।

कतारमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन आएका नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले भेट गरेका छन् ।

सेप्टेम्बर २८ र २९ मा दोहामा भएको एआईआईबीको वार्षिक बैठकका क्रममा नेपाली राजदूतावास कतारको सभाहलमा भएको भेटमा पन्थीले कतारमा कार्यरत नेपाली श्रमिक तथा नेपाली समुदायका विभिन्न समस्या र सरोकार समेटिएको ज्ञापन पत्र अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

ज्ञापनपत्रमा दूतावासमा श्रमिक सहायता डेस्क स्थापना तथा प्रभावकारी सञ्चालन, सुरक्षित डिजिटल भुक्तानी प्रणाली, श्रमिक कल्याण कोषको प्रभावकारी उपयोग, तलब, आवास तथा श्रमिक अधिकार सुनिश्चितता, राहदानी तथा कन्सुलर सेवाको शुल्क पुनरावलोकनलगायतका विषय समेटिएका छन् ।

त्यस्तै, श्रमिकका गुनासोमा कानुनी सहायता, बिरामी तथा अलपत्र नेपालीको उद्धार र स्वदेश फिर्ता, कतार आउनुअघि करार, तलब, बीमा तथा गुनासो प्रक्रियाबारे जानकारी र सुरक्षित वैदेशिक रोजगारीका विषयसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका तथा पुनः वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका कानुनी र प्रक्रियागत समस्या समाधान गर्नुपर्ने विषय पनि उठाइएको पन्थीले बताए ।

पन्थीले ज्ञापनपत्रमा उठाइएका विषय कुनै एक व्यक्ति वा संस्थासँग मात्र सम्बन्धित नभई कतारमा कार्यरत नेपाली श्रमिक तथा समग्र नेपाली समुदायका साझा सरोकार भएको बताए । नेपाली समुदायका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउँदै समाधानका लागि निरन्तर पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?