Butwal Today

ढडिया हराउँदै, थारु पहिचान संकटमा

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

चन्द्रौटा । कपिलवस्तुका ५२ वर्षीय रामबहादुर थारुका हातमा अहिले पनि पुख्र्यौली सीप जीवित छ । शिवराज नगरपालिका–१ करहियाका उनी वर्षौंदेखि थारु समुदायमा प्रचलित ढडिया बुन्ने र त्यसबाट माछा मार्ने परम्परागत सीप जोगाउँदै आएका छन् ।

व्यावसायिक प्रयोजनका लागि नभए पनि आफ्नै उपभोगका लागि ढडिया बुनेर माछा मार्ने गरेको थारुले बताए । परम्परागत ढडियाबाट माछा मारेर खाने र केही माछा सिद्रा बनाएर पछि प्रयोग गर्ने चलन थारु जातिमा पुरानै रहेको उनले जिकिर गरे ।

ढडिया बुन्ने सीप हाम्रा पुर्खाबाट सिकेर आएको बताउँदै यसबाट माछा मारेर खानुको छुट्टै महत्व रहेको थारुले जनाए । उनले भने, “यो सीप केवल माछा मार्ने माध्यम मात्रै होइन, हाम्रो जीवनशैली र पहिचानसँग जोडिएको संस्कृति पनि हो ।”

आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा पुख्र्यौली हस्तकला सिक्ने र सिकाउने क्रम कमजोर भएको थारुले बताए । पछिल्लो पुस्ताले परम्परागत सीपप्रति चासो नदिँदा ढडिया बुन्ने कला क्रमशः हराउँदै गएको उनको चिन्ता छ । सीप पुस्तान्तरण गर्न सके मात्रै कला र संस्कृति बचाउन सकिने उनले बताए ।

ढडिया (ढणह्रिया), बेंवा, डेलियन, सुप्पा (टत्री) लगायतका परम्परागत सामग्रीमा थारु जातिको पहिचान र इतिहाससँग जोडिएको छ । यस्ता सामग्रीको संरक्षणसँगै नयाँ पुस्तालाई व्यावहारिक रूपमा सीप सिकाउन आवश्यक रहेको उनले बताए । हस्तकलाको सीपलाई संरक्षणसँगै आम्दानीसँग पनि जोड्न सकिने थारु कल्याणकारिणी सभा शिवराज नगर सभापति प्रकाश चौधरीले बताए । पुर्खाको सीपलाई नयाँ पुस्ताले सिकेर व्यवसायका रूपमा अघि बढाए संस्कृतिसँगै रोजगारीको अवसर पनि सिर्जना हुन सकिने उनले बताए ।

ढडिया बुन्ने कला र सीप रहेन भने थारु जातिको एउटा महत्वपूर्ण पहिचान हराउने चिन्ता रहेको शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले बताइन् । ढिला नगरी नयाँ पुस्तालाई यो सीप सिक्न र पुस्तान्तरण गर्न उनले आग्रह गरिन् ।

स्थानीयस्तरमा परम्परागत सीपको संरक्षण र प्रवद्र्धनका लागि तालिम, प्रदर्शनी तथा बजारको व्यवस्था गर्ने समेत पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?