© 2026
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडक समेत प्रभावित भएको छ ।
सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन । मोटरसाइकल समेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन् । सडक भासिँएपछि एक करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
पहिरोका कारण स्थानीय दुई वटा घर समेत उच्च जोखिममा परेका छन् । स्थानीयहरू फेरी पनि पहिरोले थप क्षती पुराउने होकी भनेर थप त्रसित बनेका छन् । सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडक भासिएको हो ।
सघन सहरी विकास कार्यालय पाल्पाका इन्जिनियर घनश्याम यादवले उक्त सडकमा तत्काल यातायात सञ्चालन सहज बनाउनका लागि एकदुई दिन भित्रै अस्थायी ट्र्याक खोल्ने तयारी भैरहेको जानकारी दिएका छन् । भासिएको पक्की सडक पूर्ण रूपमा पुनर्निर्माण गर्न भने केही समय लाग्ने बताईएको छ ।
सडक भासिएपछि उक्त क्षेत्रबाट सदरमुकाम तम्घास अध्ययन गर्न आउने विद्यार्थीहरूदेखि रेसुङ्गा विमानस्थल जाने यात्रु तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।