नेपालगञ्ज, बाँके ।
करिब छ महिनादेखि बन्द रहेको बाँकेको खजुरा गाउँपालिका–४ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनःसञ्चालनमा आएको छ ।
अस्पतालमा जडान गरिएका लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकिथेरापी मेसिन मर्मतपछि सञ्चालन गरिएकाकारण क्यान्सरका बिरामीले लामो समयदेखि भोग्दै आएको उपचारसम्बन्धी समस्या कम भएको छ ।
क्यान्सर उपचारका लागि आवश्यकपर्ने रेडियोथेरापी सेवा बन्द हुँदा धेरै बिरामीलाई अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो । बिग्रिएका उपकरण मर्मतगरी सेवा पुनःसञ्चालन गरिएपछि अस्पतालबाटै नियमित रूपमा रेडियोथेरापी उपचार लिन सकिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार लामो समयदेखि सञ्चालनमा आउन नसकेका लिन्याक र ब्रेकिथेरापी मेसिनको आवश्यक मर्मतपछि यसै सातादेखि दुवै उपकरण सञ्चालनमा ल्याइएको हो । “क्यान्सर उपचारमा रेडियोथेरापी महत्वपूर्ण उपचार विधि हो । उपकरणमा आएको प्राविधिक समस्याका कारण लामो समय सेवा प्रभावित भए पनि मर्मतपछि अहिले सेवा पुनः सञ्चालनमा आएको छ”, उनले भने ।
लिन्याक नामक उपकरणले क्यान्सर प्रभावित भागमा आवश्यकमात्रामा विकिरण केन्द्रित गरी उपचार गर्न सहयोग गर्छ । त्यसबाट शरीरको प्रभावित भागमा लक्षित रूपमा विकिरण दिइने भएकाले क्यान्सर उपचारमा त्यसको महत्वपूर्ण भूमिका हुन्छ ।
त्यस्तै ब्रेकिथेरापीमा पनि प्रभावित स्थानको नजिकै विकिरणका स्रोत राखेर उपचार गरिने डा गुप्ताले बताए । दुवै प्रविधि क्यान्सरका विभिन्न अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने भएकाले उपकरण सञ्चालनमा आउनुलाई अस्पतालले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको अस्पतालका निर्देशक डा नीरज भट्टराईले बताए ।
अस्पतालका सूचना अधिकारी डा गुप्ताकाअनुसार रेडियोथेरापी सञ्चालनमा आएसँगै अब क्यान्सरका बिरामीलाई काठमाडौँ, भक्तपुर, चितवन र भरतपुर जानुपर्ने बाध्यता हटेको छ ।