© 2026
काठमान्डौँ ।
श्रम संस्कृति पार्टीका सांसद आरएन राईले त्रिपुरेश्वरमा केही दिनअघि भएको बस आगलागीमा पीडित अर्जुन दोङ तामाङको परिवारसँग सरकारले हालसम्म कुनै संवाद वा सम्पर्क नगरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद राईले पीडित परिवारले हालसम्म कुनै सहयोग नपाएको र गुनासो लिएर विभिन्न निकाय धाइरहेको बताए । उनले पीडित परिवारको समस्या तत्काल सम्बोधन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।
त्यस्तै, सांसद राईले मुस्ताङको हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । असोज ११ गते मुस्ताङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीमा ढिलाइ भएको भन्दै उनले आपत्ति जनाए ।
हिमपहिरोमा खोजी कार्यका लागि गएका खोटाङका तीन जना स्थानीय बेपत्ता भएका थिए। तीमध्ये एक जनाको शव भेटिए पनि ल कुमार गुरुङ र सुरज राई अझै बेपत्ता रहेको सांसद राईले बताए । उनले बेपत्ताहरूको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे ।
सांसद राईले विदेशमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराए। पोल्यान्डमा कार्यरत नेपालीहरूले त्यहाँका बैंकमा खाता खोल्न नपाउँदा ठूलो समस्या भोगिरहेको उनले बता ए।
‘जेन्जी आन्दोलनपछि त्यहाँका बैंकहरूले नेपाली श्रमिकको खाता खोल्न बन्द गरेका छन् । जसका कारण नेपालीहरूले बैंकिङ कारोबार गर्न नपाएर समस्या भोगिरहेका छन्,’ उनले भने ।
नेपाल ग्रे लिस्टमा रहेको भन्दै बैंकहरूले नेपाली नागरिकको खाता खोल्न अस्वीकार गरिरहेको उनको भनाइ थियो। नयाँ खाता खोल्न खोज्दा नेपाली पासपोर्ट नम्बरका कारण समेत समस्या भइरहेको उनले बता ए।
सांसद राईले परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायलाई तत्काल कूटनीतिक पहल गरी पोल्यान्डमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधान गर्न आग्रह गरे ।