Butwal Today

आइसियुमा २६ दिनदेखि बेवारिसे बिरामीको उपचार, परिवारजन सम्पर्कविहीन

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

लमही । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा २६ दिनदेखि एक जना बिरामी बेवारिसे अवस्थामा उपचाररत छन् । कोहलपुर घर भएका ४१ वर्षीय प्रकाश चौधरीलाई परिवारजन तथा आफन्तको सम्पर्कबिनै प्रतिष्ठानले निरन्तर उपचार सेवा दिइरहेको छ ।

चौधरी विगत २६ दिनदेखि आइसियुमा उपचाररत रहेको प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले जानकारी दिए । उनका अनुसार चौधरीको उपचारका क्रममा हालसम्म अस्पतालतर्फ बेड चार्जसहित इन्भेष्टिगेसनमा ५१ हजार ७ सय ५० रुपैयाँ र औषधितर्फ १ लाख ५५ हजार २ सय ४६ रुपैयाँ खर्च भएको छ । यसरी चौधरीको उपचारमा हालसम्म कुल २ लाख ६ हजार ९ सय ९६ रुपैयाँ खर्च भइसकेको छ ।

लामो समयदेखि आइसियुमा उपचाररत चौधरीका परिवारजन तथा आफन्त हालसम्म अस्पतालको सम्पर्कमा नआएको डा. रसाइलीले बताए । परिवारजनको उपस्थिति नभए पनि अस्पतालले मानवीय दायित्वअन्तर्गत चौधरीको उपचारलाई निरन्तरता दिइरहेको उनले जानकारी दिए ।

त्यस्तै, लमहीका ३१ वर्षीय सन्तोष क्षेत्री पनि विगत ६ दिनदेखि प्रतिष्ठानको इमरजेन्सीमा बेवारिसे अवस्थामा उपचाररत छन् । क्षेत्रीको उपचारमा अस्पतालतर्फ इन्भेष्टिगेसनमा १ हजार २ सय रुपैयाँ र फार्मेसीतर्फ करिब ६५ हजार रुपैयाँ खर्च भएको छ । बेड चार्जसमेत जोड्दा उनको उपचारमा हालसम्म करिब ७० हजार रुपैयाँ खर्च भएको डा. रसाइलीले जानकारी दिए ।

क्षेत्रीका परिवारजन तथा आफन्त पनि हालसम्म अस्पतालको सम्पर्कमा नआएको प्रतिष्ठानले जनाएको छ । दुवै बिरामीको उपचार तथा हेरचाह अस्पतालले आफ्नै तर्फबाट आवश्यक व्यवस्थापन गर्दै आएको छ ।

अस्पताल निर्देशक डा. रसाइलीले दुवै बिरामीका परिवारजन, आफन्त वा उनीहरूलाई चिन्ने व्यक्तिलाई प्रतिष्ठानसँग सम्पर्क गर्न आग्रह गरेका छन् । लामो समयदेखि परिवारको सम्पर्कबाहिर रहेका बिरामीको उपचारमा निरन्तर खर्च भइरहेको र उपचार तथा व्यवस्थापनका लागि परिवारजनको समन्वय आवश्यक रहेको उनले बताए ।

दुवै बिरामीका परिवारजन वा आफन्तबारे जानकारी हुने व्यक्तिले प्रतिष्ठानसँग सम्पर्क गरी उनीहरूको परिवारसम्म सूचना पुर्‍याउन सहयोग गरिदिनसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?