Butwal Today

आस्थाको केन्द्र बन्दै कपिलवस्तुको रक्षाबाबा

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

कपिलवस्तु ।

जहदीस्थित रक्षाबाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ । कपिलवस्तु नगरपालिका–११ मा पर्छ, रक्षाबाबाको मन्दिर । यहाँ बसोबास गर्ने मानव तथा पशुपक्षीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षाबाबालाई लिने गरिएको छ ।

भाकल पूरा भएपछि रक्षाबाबालाई दूध, घ्युमा पकाएको रोटी, फलफूललगायत सामग्री चढाउने परम्परा छ । रक्षाबाबा स्थलमा स्थानीय देवता रक्षाबाबाको विशाल प्रस्तर मूर्ति स्थापना गरिएको छ ।

मूर्तिको टाउकोको केही भाग फुटेको र कुमसम्म प्वाल परेको देखिन्छ । बाँकी रहेको टाउकोको भागमा भेडाको सिङजस्तो आकृति रहेको छ । मूर्तिको छेउमा प्राचीन इनारसमेत रहेको छ ।

रक्षाबाबा क्षेत्र आसपास रातो माटाका भाँडाका टुक्रा, इँटाका टुक्रा तथा माटाका साना गोलाकार वस्तु छरिएर रहेको स्थानीयवासी बताउँछन् । यसले उक्त क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक महत्वसमेत रहेको स्थानीयको भनाइ छ ।

स्थानीय धर्मगुरु रामशब्द मिश्रका अनुसार स्थानीयवासीले रक्षाबाबासँग विभिन्न विषयमा भाकल गर्ने र भाकल पूरा भएपछि सोहीअनुसार पूजा गर्ने गरेका छन् । उनका अनुसार स्थानीयवासीले रक्षाबाबालाई विशेष देवताका रूपमा पूजा तथा आराधना गर्दै आएका छन् ।

कपिलवस्तुमा विभिन्न ऐतिहासिक तथा पुरातात्विक स्थल रहेकाले त्यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । रक्षाबाबा रहेको क्षेत्रमा पुरातत्व विभागले समेत सूचना बोर्ड राखेको छ ।

कपिलवस्तु नगरपालिका–११ का वडाध्यक्ष रामगोपाल यादवले रक्षाबाबा क्षेत्रको संरक्षण तथा पुरातात्विक उत्खननका लागि सम्बन्धित निकायसँग माग गरिएको बताए । पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा कुनै पनि कार्य गर्दा पुरातत्व विभागको स्वीकृति आवश्यक पर्ने भएकाले विभागसँग समन्वय गरिने उनले बताए ।

यस आर्थिक वर्षमा रक्षाबाबा क्षेत्रको सरसफाइलगायत कार्यका लागि वडा कार्यालयबाट बजेट विनियोजन गरिएको वडाध्यक्ष यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?