Butwal Today

बुटवलमा रमाईलो मेला

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

बुटवल  ।  बुटवलमा दशैंको पूर्वसन्ध्यामा रमाइलो महोत्सव आयोजना हुने भएको छ । रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा यही असोज १६ देखि ३१ गतेसम्म देवीनगर रंगशालामा महोत्सव सञ्चालन हुने भएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए ।

बुटवलको सांस्कृतिक, मनोरञ्जनात्मक तथा व्यापारिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ यो महोत्सव आयोजना गर्न लागिएको रेड रक इभेन्ट एण्ड म्यानेजमेन्ट अध्यक्ष विकल क्षेत्रीले बताए । उनका अनुसार महोत्सव मुख्य आकर्षकको रूपमा बाल उद्यानतर्फ नेपालमै पहिलोपटक ‘जेरो ग्रेभिटी’ तथा बुटवलमै पहिलोपटक ८ वटा ‘बिग बेन’ टावर राखिने भएको छ । यस्तै हट एयर बेलुन समेत सञ्चालन हुने छ ।

महोत्सवमा आउने दर्शक तथा अवलोकनकर्तालाई नयाँ र फरक किसिमको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यी विशेष आकर्षणहरू राख्न लागिएको उनले बताए ।

महोत्सवमा ‘जेरो ग्रेभिटी’ मुख्य आकर्षणका रूपमा रहनेछ भने ‘बिग बेन’ टावरले मेलास्थललाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । महोत्सवमा मनोरञ्जनसँगै विभिन्न प्रदर्शनी, व्यापारिक स्टल तथा अन्य आकर्षणहरू समेत रहनेछन् ।
महोत्सवमा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुती रहने छ ।

साथै बुटवल डान्स आइडल, मम्मी डान्स प्रतियोगिता, हिपअप डान्स प्रतियोगिता, टिकटक प्रतियोगिता लगायतका विविध सांस्कृतिक कार्यक्रम र बिशेष इभेन्टसमेत आयोजना हुने कार्यक्रम संयोजक टेकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार यी प्रतियोगिताहरूमा एसएमएस तथा भोटिङबाट नगरी निर्णायकको छनोटबाट बिजेता घोषणा गरीनेछ ।

महोत्सवमा बिभिन्न २५० बढी स्टल रहने रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टका सिइओ पालदेन घलानले जानकारी दिए । हालसम्म करिब २०० स्टल बुक भइसकेको उनले बताए । स्टलमा कृषिजन्य तथा स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको छ ।

उनका अनुसार मेलाको अवलोकलनका लागि बिद्यार्थीका लागि परिचय पत्रको आधारमा ८० रूपैयाँ, सर्वसाधारणका लागि १०० रूपैयाँ र बिशेष इभेन्टका लागि ३०० रूपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । महोत्सवको एक लाख भन्दा बढी बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड बढी कारोवार हुने अनुमान गरीएको छ ।

महोत्सवबाट हुने कुल नाफा रकमबाट ५ प्रतिशत बाढी पीडितलाई प्रदान गरीने इभेन्टका अध्यक्ष क्षेत्रीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?